अब भारतलाई छाड्नुहुन्न, बाह्य हस्तक्षेपको प्रतिकार गरौंः उपप्रधानमन्त्री केसी
रत्ननगर (चितवन), २१ चैत । उपप्रधानमन्त्री एवम् सहकारी तथा गरिबी निवारणमन्त्री चित्रबहादुर केसीले भारत र इयुको संयुक्त वक्तव्य नेपालमाथिकै नाङ्गो हस्तक्षेप भएको टिप्पणी गर्नुभएको छ ।
राष्ट्रिय जनमोर्चाका अध्यक्षसमेत रहनुभएका उहाँले आज चितवनमा कार्यकर्ता भेटघाटका क्रममा यस्तो बताउनुभएको हो ।
राष्ट्रिय जनमोर्चा चितवनको आयोजनामा आज पार्टी कार्यालयमा भएको कार्यकर्ता भेटघाटमा उहाँले नेपालमाथि बाह्य हस्तक्षेप सह्य नहुने बताउनुभयो ।
उहाँले यो वक्तव्य मन्द विषको रुपमा आएको भन्दै नेपालका दल मिलेर चुनौतीको सामना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नयाँ संविधानले सबैको अधिकार सुनिश्चित गरेकोसमेत बताउनुभयो । नेपाललाई सिक्किमीकरण गर्न खोजिएको भन्दै उहाँले एकता फुटाउने खेल सफल नहुने दाबीसमेत गर्नुभयो ।
सङ्घीयताकै कारण मधेस आन्दोलन भएको उल्लेख गर्दै मन्त्री केसीले नेपालका लागि सङ्घीयता आवश्यक नभएको जिकिर गर्नुभयो ।
कार्यक्रममा मन्त्री केसीले सहकारी क्षेत्रका कानुन सुधार गर्ने पक्षमा आफू रहेको जानकारी दिनुभयो । सहकारीले देशको विकासमा सहयोगी भूमिका खेल्ने उहाँको भनाइ थियो ।
यसअघि आजै उहाँले चितवनको नारायणगढमा तरकारी तथा फलफूलमण्डीको स्थलगत अनुगमन गर्नुभएको थियो भने अन्तक्र्रियामा समेत सहभागी हुनुभएको थियो । रासस
