बुद्ध जयन्तीको समारोहमा मोदीलाई निमन्त्रणा
दोलखाः संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री आनन्दप्रसाद पोखरेलले आगामी बुद्ध जयन्तीका अवसरमा हुने विशेष समारोहमा भारतका प्रधानमन्त्री मोदीलाई निमन्त्रणा दिन आफू भारत भ्रमणमा जाने बताएका छन् ।
नेपालको पर्यटन प्रवद्र्धन गर्दै आर्थिक विकास गर्न सरकारले सात प्राथमिकता निर्धारण गरेर अगाडि बढेको भन्दै पोखरेलले आफू प्रधानमन्त्री केपी शर्मा ओलीको सल्लाह बमोजिम नै भारतीय प्रधानमन्त्री मोदीलाई निम्ता गर्न भारत जान लागेको बताए । उनले भारत भ्रमणको मिति भने तय भइनसकेको बताए ।
नेपालमा साहसिक पर्यटनसँगै सांस्कृतिक एवम् प्राकृतिक पर्यटनलाई प्रवद्र्धन गर्न तीर्थयात्रा पर्यटनलाई सरकारले प्राथमिकतामा राखेको पोखरेलले बताए ।
आइतबार चरिकोट मिडिया फाउन्डेसनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पोखरेलले सांस्कृतिक पर्यटन विकासका लागि नेपाललाई बुद्ध र हिन्दू सर्किटका रुपमा विकास गर्ने उल्लेख गरे ,।
आफूले गहन अध्ययन र प्रमाणका आधारमा बुद्धको जन्मथलो मात्र नभई बुद्धधर्मको थलोसमेत नेपाल नै भएको दाबी पोखरेलको छ ।
उनले विगतमा बुद्ध भारतमा जन्मिएको दाबी गर्ने भारतीय अहिले बुद्धको जन्मथलो नेपालमै भएपनि बुद्धत्व चाहिँ भारतमा प्राप्त गरेको हो भन्ने तहसम्म आइपुगेको बताए ।
उनले नेपालको विगतको इतिहासका लागि नेपालको उत्पत्तिदेखि ज्ञानेन्द्र शाहको शासनकालसम्मका इतिहास समेटेर म्युजियम बनाउने, १२५ भाषाभाषीलाई मध्यनजर गरेर राष्ट्रिय सङ्ग्रहालय बनाउनेलगायतका योजनासमेत सरकारको रहेको बताए ।
पर्यटनमन्त्री पोखरेलले पर्यटन विकासका लागि हवाई सेवाको भरपर्दो विकास आवश्यक रहेको उल्लेख गरे ।
सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, विश्वकै ठूलामध्येमा पर्नसक्ने निजगढ विमानस्थल र गौतमबुद्ध विमानस्थललाई प्राथमिकतामा राखेर काम अगाडि बढाएको बताए ।
उनले विगतमा नेपाल भारतवेष्ठित देश भन्ने गरिएकोमा चीनसँग पारवहन सन्धि गरेर वर्तमान सरकारले नेपाल भू–परिवेष्ठित देश भएको प्रमाणित गरिदिएको चर्चा गरे ।
राष्ट्रियताको पक्षमा खरो उत्रिएको वर्तमान सरकार परिवर्तन गर्न खोज्नु राष्ट्रियतामाथिको प्रहार हुने बताए । रासस
annapurnapost
