मोरङः भारतीय जनता पार्टी (भाजपा)का उपाध्यक्ष भगतसिंह कोसियारीले नेपालको विकास भिख मागेर नहुने बताएका छन् ।
सोमबार मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)को महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै सिंहले भने, ‘नेपालले सगरमाथा झै शिर खडा गरेर उभिन सक्नुपर्छ, अनि मात्र देशको विकास हुन्छ । भिख मागेर देशको विकास हुँदैन ।’
सुदूर पश्चिम नेपालसँग जोडिने भारतीय राज्य उत्तराखण्डमा दुईपटक मुख्यमन्त्री भइसकेका भाजपाका वरिष्ठ नेता कोसियारीले नेपालले विकासका लागि आफै लागिपर्नुपर्ने बताएका हुन् ।
भाजपाका नेपाल मामिला विज्ञ समेत रहेका सिंहले नेपालले विकासका लागि भारत, चीन र अमेरिकासँग समान सम्बन्ध विस्तार गर्नुपर्ने समेत बताए । उनले नेपालको विकास कुनै एक देशसँग झुकाव राख्न नहुने भएकाले सबैसँग समान सम्बन्ध राख्नुपर्ने बताए ।
‘नेपालको विकास न चीनसँग मिलेर न भारततर्फ झुकेर न अमेरिका तर्फ झुकेर हुन्छ,’ सिंहले भने, ‘नेपाललले कुनै देशसँग झुकाव नराखी परम्पर समान सम्बन्ध राखेर देश विकास गर्नुपर्छ ।’
नेपाल भारतको सम्बन्ध विशेष भएको चर्चा गर्दै सिंहले नेपाल र भारतको रगतको नाता भएको उल्लेख गरे । सिंहले दुई देशकाबीच रोटीबेटीको सम्बन्ध भएकाले रगतको नाता भएको प्रष्ट पारे । उनले भने, ‘नेपाल र भारतका जनता एक हुन् किनभने दुई देश बीचको रोटीबेटीको सम्बन्ध छ । यसका आधारमा भारत र नेपालका बीचमा रगतको नाता छ।’
सिंहले नेपालमा संघीयताले देश बर्बाद हुने हल्ला फैलाइएकोप्रति आफूलाई विश्वास नभएको बताए । उनले संघीयताले नेपाललाई मजबुत बनाउने तर्क गरे । ‘नेपालमा बनाइएका सात वा आठ प्रान्तले देश टुक्रिदैन । यसले नेपाललाई अझ मजबुत र बलियो बनाउछ ।’
उनले नेपालको संविधानले केही जनताका अधिकारलाई सुरक्षित गर्न नसकेपछि ती माग सम्बोधन हुने प्रक्रियामा रहेको बताए । संविधानले केही समयमै असन्तुष्ट समूहका माग सम्बोधन गर्ने विश्वास समेत सिंहले लिएका छन् ।
संविधानमा सीमांकनको विवाद देखिएपनि यस्ता विवाद समाधान हुने वित्तिकै नेपालको संविधान जनताको संविधान बन्ने उल्लेख गरे ।
‘नेपालको संविधानका केही मागको सम्बोधन हुन बाँकी छ । सीमांकनसहितका केही विवाद बाँकी छन् । ती विवाद मिल्ने बित्तिकै संविधान सबै जताबीचको संविधान बन्छ,’ सिंहले भने ।
annapurnapost
भिख मागेर नेपालको विकास हुँदैनः भगतसिंह
news and entertainment