अमेरिकामा बस्ने नेपालीहरुद्वारा मताधिकारको माग

१२ वैशाख, काठमाण्डौ । अमेरिकामा बस्ने नेपालीहरुले आगामी संविधानसभाको दोस्रो निर्वाचनमा मताधिकारको ब्यवस्था गर्न माग गरेका छन् । अमेरिकाको क्यालिफोर्नियामा बसोबास गरिरहेका करिब २५ हजार नेपालीहरुको छाता संगठन नेपाली एशोसिएसन अफ नर्थन क्यालिफोर्निया (नान्स)ले मताधिकारसहित दोहोरो नागरिकताको सम्बन्धमा समते अन्य मुलुक जस्तै खुल्ला नीति अपनाउन सरकारसँग माग गरेको हो ।
आइतवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी नान्सका अध्यक्ष उत्तम कार्कीले आफूहरु रोजगारको सिलसिलामा अमेरिका पुगे पनि माया र मन सधै नेपालमा हुने गरेको उल्लेख गर्दै आफूहरुलाई नेपाली नागरिकको ब्यवहार गर्नु पर्ने बताउनुभयो । अमेरिकामा बसेपनि नेपालको आर्थिक विकासमा लगानी भित्राउन पहल गरिरहेको, नेपाली संस्कृति र धर्मलाई अमेरिकामा संरक्षण गरेको, नेपालका पीडित र पिछडिएका वर्गलाई सहयोग गरेको, अमेरिकामा दु:ख पाएकालार्इ सहयोग गर्दै आएको उल्लेख गदै उहाँले नेपालले जहाँ बसे पनि नेपालीहरुको लागि सोच्नु पर्ने बताउनुभयो ।
नेपाल तरुण दलका पूर्व महामन्त्री यम गुरुङले मुलुक सक्रमणकालमा रहेको बेला त्यसलाई अन्त्य गर्दै मुलुकमा आर्थिक विकास गर्न गैर आवासीय नेपालीहरुको भूमिका हुन सक्ने भन्दै राजनीतिक दलहरुले उनीहरुको माग संबोधन गर्न लचकता देखाउनु पर्ने बताउनुभयो ।

news and entertainment