वामदेवलाई गृहमन्त्री बन्न नदिने यस्तो छ माधवको खेल
७ फागुन, काठमाडौं । एमाले उपाध्यक्ष वामदेव गौतमलाई गृहमन्त्री बन्न नदिने खेलमा बरिष्ठ नेता माधवकुमार नेपाल सक्रिय रहेकोचर्चा एमालेवृत्तमा भुसको आगोजस्तै फैलन थालेको छ । एमालेको ओली पक्षले गरेको दाबीअनुसार ओलीलाई संसदीय दलको नेता बन्न नदिने प्रयास असफल भएपछि माधव नेपालले वामदेवलाई गृहमन्त्री बन्नबाट रोक्ने अभियान थालेका छन् ।
पौडेल र गौतमवीच फाटो ल्याउने प्रयास
bishnu-poudelएमाले सचिव विष्णु पौडेललाई भेटेर वामदेवको विकल्पमा सरकारको नेतृत्व गर्न आश्वास दिएको माधव नेपाल पक्षले गौतम र पौडेलवीच फाटो गराई ओली गठबन्धन भत्काउने प्रयास गरेको स्रोत बताउँछ । आफूलाई गृहमन्त्री बनाउने वार्ताको जिम्मेवारी पाएका सचिव पौडेलले भित्रीरुपमा बरिष्ठ नेता माधव नेपालसँग साँठगाँठ गरेको देखाउने नेपाल पक्षधर केही नेताले प्रयास गरेको बताइन्छ ।
‘माधव नेपालका एक सहयोगीमार्फत पौडेल र नेपालवीच भित्री छलफल भइरहेको र उनीहरुकै योजनामा आफूलाई ‘सुन तस्कर’ एवं ‘भ्रष्टाचारी’ भनी प्रचार गरिएको गौतमलाई परेको छ’ एमालेका एक नेताले अनलाइनखबरसँग भने, ‘ओली पक्षका भनिए पनि पौडेलले वरिष्ठ नेता नेपालसँग मिलेर आफूविरुद्ध खेलेको गौतमले आशंका गरेका छन् । माधव नेपालनिकट स्रोतले भन्यो, ‘गौतमले यसबारे प्रमाणै फेला पारिसकेको आफ्ना निकटस्थसँग बताउने गरेका छन् ।’
आफूलाई भ्रष्टाचारीका रुपमा प्रचार गरेर मन्त्री बन्न नदिने र पछि आफैं गृहमन्त्री बन्ने योजनामा पौडेल रहेको उपाध्यक्ष गौतमलाई एमालेका एकथरि नेताहरुले कुरा लगाएको बुझिएको छ ।
पौडेल भन्छन्- यस्तो सोच्नसम्म सकिँदैन
पार्टी सचिव विष्णु पौडेल भने वामदेवलाई गृमन्त्री बन्न नदिने भन्ने कुरा आफूले सोच्नसम्म नसक्ने बताउँछन्, ‘यो वाहियात प्रचार हो, वामदेवजीविरुद्ध म लागेको भन्ने कुरा सोच्नसम्म सकिँदैन,’- सचिव पौडेलले अनलाइनखबरसँग सक्षिप्त प्रतिक्रिया दिए ।
दोस्रो प्रयास पोखरेलतिर
विष्णु पौडेल र वामदेव गौतमवीच फाटो पार्न नसकेपछि एमाले नेता नेपालको ध्यान महासचिव ईश्वर पोखरेलतिर जान थालेको एमाले स्रोतले बतायो । ‘निर्वाचन हारे पनि पोखरेललाई गृहमन्त्री बन्नुपर्छ भन्दै माधवले लविङ थालेका छन्, एमालेका एक नेताले भने,’ माधव नेपाल चाहन्छन्, जसरी भए पनि ओली र वामदेव पक्षको गठबन्धन टुटोस् ।’

