पाण्डेले नाटक भनेपछि डा. केसी आइसीयु बेडबाट नै कडकिए

१२ फागुन, काठमाडौं । एमाले सभासद राजेन्द्रप्रसाद पाण्डेले सोमबार व्यवस्थापिका संसदको बैठकमा बोल्ने क्रममा प्रा. डा. गोविन्द केसीको अनशनलाई ‘नाटक’ को संज्ञा दिए । तर डा. केसीले पनि पाण्डेलाई जवाफ फर्काउँदै अनशन बसेर देखाउन सोमबारै चुनौती दिएका छन् ।

कानून बनाउने ठाउँमा पुगेका मेडिकल कलेज सञ्चालक पाण्डेले ‘नाटककार’ भने पनि डा. केसीचाँहि अनशनका कारण अहिलेसम्म साँच्चै थलिइरहेका छन् । पाण्डेले संसदमा बोलिरहँदा केसी शिक्षण अस्पतालको मेडिकल आइसीयूमा सुतिरहेका थिए ।
मेडिकल कलेजलाई सम्बन्धन नदिए संविधानसभा भवनको गेटमै अनशन बस्न बाध्य हुने चेतावनी सुनेपछि डा. केसीले अस्पतालको सैय्याबाटै सभासद पाण्डेलाई अनसन बसेर देखाउन चुनौती दिएका छन् ।
शिक्षण अस्पतालको मेडिकल आईसीयूमा उपचाररत प्रा डा. केसीले सभासद पाण्डेलाई जवाफ दिँदै भने- ‘उहाँ -राजेन्द्र पाण्डे) ले योभन्दा पहिले पनि अनशन बस्ने भन्नुभएकै हो । नाटक कसले गरिरहेको छ थाहा भइगयो नि । साहस भए अनशन बसेर देखाए हुन्छ, तर अनशन बस्न सजिलो छैन ।’
राम्रो कामका लागि मात्रै अनशन बस्न सहास आउने डा. केसीको भनाइ छ । ‘असशन बस्न सहास हुनुपर्‍यो । राम्रो उद्देश्यका लागि हो भने अनशन बस्ने साहस हुन्छ । तर, यस्तो साहस छैन उहाँहरुसँग ।’
निजी कलेजमा डाक्टर पढ्न करोडौं लाग्ने र ती डाक्टरहरुको सेवा शुल्क समेत महंगो हुने बताउँदै केसीले भने-’उहाँले पाँच प्रतिशतका लागि अनशन बस्न खोज्नुभएको हो, म ९५ प्रतिशत जनताको भावनाको कुरा गरिरहेको छु ।’
आफू शिक्षाको विरोधी नभएको भन्दै डा. केसीले पैसा छ र डाक्टर पढ्छु भन्दैमा राम्रा डाक्टरहरु उत्पादन नहुने बताए । निजी कलेजहरुले सम्वन्धन नपाउँदा वाषिर्क २० अर्बभन्दा बढी नेपाली रकम विदेशिएको सभासद पाण्डेको दावीबारे प्रा. डा. केसीले भने -’पैसा कति लाग्छ, के लाग्छ उहाँसँगै आँकडा रहेछ । सभासद भन्दा पनि व्यापारीको जस्तो कुरा गर्नु भएको छ ।’
डा. केसीले अहिले नेपालमा रहेका निजी मेडिकल कलेजहरुमा भारतसहितका देशबाट विद्यार्थी आउने भन्दै नेपाली विदेश जाने क्रम रोक्ने हो भने विदेशबाट आउन नदिएर नेपालीहरुलाई मात्र पढ्न व्यवस्था गर्नसमेत चुनौती दिए । तर, कोही आफ्नो खर्च गरेर विदेशमा पढ्न जान्छन् भने लोकतन्त्रमा उनीहरुलाई रोक्न नमिल्ने डा. केसीको तर्क छ ।

, ,

news and entertainment