महेश बस्नेतले गुण्डाका नाममा जो पायो त्यहीलाई पक्राउ गरेर दुःख दिने कार्य गर्न हुन्नः गौतम

उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले एक वर्षभित्र संविधान निर्माण गर्ने दलहरुको प्रतिबद्धताअनुसार अबको  नौ महिनाभित्र संविधान निर्माण हुने बताएका छन।
 
अखिल नेपाल किसान महासङ्घ भक्तपुरले महासङ्घका केन्द्रीय अध्यक्ष गौतम उपप्रधानमन्त्री एवम् गृहमन्त्री भएकोमा उनको सम्मानमा आज आयोजना गरेको शुभकामना कार्यक्रममा बोल्दै उनले संविधान बनाउने एकवर्षे अवधिमा तीन महिना सकिएकाले अबको नौ महिनाभित्र संविधान निर्माण गर्ने दाबी गरेका हुन् ।
 
वर्तमान संविधानसभाले अघिल्लो संविधानसभाले गरेको कामको स्वामित्व ग्रहण गर्ने सहमति भएको बताउँदै उनले अघिल्लो संविधान सभाको कामको स्वामित्व ग्रहण गरेपछि बाँकी काम अबको नौ महिनामा सकिने उल्लेख गरे ।
 
अहिलेको संविधानसभाले संविधान निर्माणको काम सुरु गरिसकेको बताउँदै उनले संविधानसभाबाट संविधान जारी गर्नुअघि स्थानीय निकायको निर्वाचन गरिने बताए।
 
 गृहमन्त्री गौतमले देशमा शान्ति सुरक्षा कायम गर्ने, अमनचयन, सुसासनको व्यवस्था गर्ने, सिमानामा सुरक्षा कायम गर्ने कार्यमा सरकार प्रतिवद्ध रहेको बताए।
 
 कानून हातमा लिएर कसैले पनि कुनै पनि काम गर्छ भने त्यस्तालाई कानूनले माफी नदिने जिकिर गर्दै उनले भने,, “कानून हातमा लिएर जनतालाई दुःख दिने, अनुचित काम गरेर धन आर्जन गर्ने र त्यही धनको दुरुपयोग गरेर जनतालाई नै दुःख दिने काम अब रोकिनुपर्छ, देशमा अराजकता र दण्डहीनताको अब अन्त्य हुनुपर्छ।”
 
 दलहरुको संरक्षणमा रहेर कसैले पनि गुण्डागर्दी गर्छ, आपराधिक कार्य गर्छ भने त्यस्ता कार्यमा अब छुट नदिने उल्लेख गर्दै उनले भने,“देशका गुण्डा, अपराधी कोही काँग्रेसभित्र, कोही एमाओवादीभित्र त कोही एमालेभित्र घुसेर र लुकेर रहेका छन् भने अब कुन पार्टी भित्र त्यस्ता छन्, त्यो हेर्ने होइन जहाँ छन् अब पक्राउ गर्नुपर्छ भन्ने हो, त्यसमा पार्टीको ट्याग लाग्दैमा कसैलाई कानूनी दायरामा ल्याउन छुट हुदैन।”
 
 कार्यक्रममा युवा सङ्घका अध्यक्ष महेश बस्नेतले गुण्डाका नाममा जो पायो त्यहीलाई पक्राउ गरेर दुःख दिने कार्य गर्न नहुने बताए।
 
 कार्यक्रममा एमालेका सभासद् केदार सञ्जेल, राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य सोम मिश्र, एमालेका भक्तपुर अध्यक्ष राजेन्द्र राजथला, प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले देशमा शान्ति सुरक्षा कायम गर्न र जनतालाई संविधान दिन वर्तमान सरकार केन्द्रीत हुनुपर्ने धारणा राखे। रासस

,

news and entertainment