अधिकृतले गृहमन्त्रीलाई गोली ठोकि दिनुपर्छ भन्ने समाचारले तहल्का पिट्यो
शम्भु यादव, लहान । ओसामाविन लादेनलाई मार्न पाकिस्तानमा आक्रमण गर्ने अमेरिकी सैनिक र लडाकु विमानहरुबारे समाचार एक पाकिस्तानी नागरिकले सामाजिक सञ्जाल फेसबुकबाट विश्वसामु फैलाएका थिए । त्यसकारण भनिन्छ अहिले हरेक व्यक्ति पत्रकार हुन् ।
सामाजिक सञ्जाल फेसबुक र हातहातमा मोबाइल आएपछि घटना र त्यससँग जोडिएका विचारहरु जसले जहाँबाट जुनबेला पनि धेरै मानिसहरु बीच सञ्चारित गर्न सक्छ ।
फेसबुक हेर्ने क्रममा एउटा उत्तेजक र रोमाञ्चक प्रतिक्रिया भेटायौं । प्रतिक्रिया हो– ईलाका प्रशासन कार्यालय लहानका अधिकृत राजु साहको । राकेश गुप्ता रोशनले आफ्नो फेसबुकमा ‘तस्वीर आफै बोल्छ’ भन्ने शीर्षकमा ‘गृहमन्त्रीको जेब्राक्रस’ समाचार र तस्वीर नयाँ पत्रिकाबाट साभार गरी पोष्ट गरेका थिए ।
सोमबार नयाँ पत्रिका दैनिकमा मन्त्री गौतमको सो तस्वीर सार्वजनिक भएपछि देशैभरी चर्चा भएको थियो । गौतमबारे विभिन्न टिकाटिप्पणी पनि भएका थिए र भइरहेका छन् । तरपनि एक सरकारी जागिरे र जिम्मेवार पदमा रहेका अधिकृत राजु साहले लेख्नै नहुने प्रतिक्रिया ‘कमेन्ट’ रोशनको सो पोष्टमा गरे ।
गृहमन्त्री गौतमलाई लक्षित गर्दै उनले यस्तो कमेन्ट गरे– ‘सालेको पिछुवादामा गोली ठोकी दिनुपर्छ ।’ यो कमेन्ट लेखेको करिब ३४ मिनेटपछि हेर्दा त्यहाँ अन्य कमेन्टहरु पनि थिए । तर अन्य कमेन्टहरु सामान्य नै थिए ।
त्यसपछि गृहमन्त्रालय अर्थात गृहमन्त्रीकै मातहतका एउटा अधिकृतले यस्तो उत्तेजनात्मक कमेन्ट कसरी लेख्न सक्छन् भन्नेबारे पत्रकार र अन्य कर्मचारीबीच चर्चा समेत चलेको छ । फोनबाट प्रतिक्रिया लिँदा अधिकृत साहले भने, ‘उहाँ गृहमन्त्री हुँदैमा जे पनि गर्न मिल्छ ? उहाँ पनि एउटा जनता हो नि ।’
‘तपाईंले त गोली नै ठोक्नुपर्छ भन्नुभएको छ ?’ भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘गृहमन्त्री हुँदैमा उहाँले जे पनि गर्न मिल्ने । अनि हामीले लेख्न नपाउने ? गोली ठोक्नुपर्छ भन्ने कुरा लेखेपनि ठोकिदिएको त छैनौं नि ।’
अधिकृत साहसँग कुरा सकेर फोन राखेको केही समयपछि उनले ‘गोली ठोकी दिनुपर्छ’ भन्ने कमेन्ट डिलिट गरेका थिए । तर नेपाल सन्देशसँग साहले गरेको कमेन्टको तस्वीर सुरक्षित छ । त्यसपछि साहले पुनः लेखे, ‘देश नै डुब्ने बेलामा जोलाई जे मन लाग्छ गर्छन्, यी लाटा जनताहरुले के बिगार्छन र कसको ?’
पहिलो कमेन्ट डिलिट गरेर दोस्रो कमेन्ट लेखेको केही बेरमै त्यही कमेन्टमा सम्पादन गर्दै ‘हामी कर्मचारीहरुले केही भन्यौ भने कारवाही गर्ने रे, यी फाटाहा नेताहरुले जे गर्दा नि हुने ?’ भन्ने थपे ।
फेसबुक चलाउने लहानका बुद्धिजिवीहरुबीच राजु साहको बेजोड चर्चाका साथै अनेक टिकाटिप्पणी भइरहेको छ । (प्रथम तस्वीरमा अधिकृत राज साह)
- See more at: http://www.nepalsandesh.com
