क्याप्टेनको करामत, सेनामा खैलाबैला
नेपाली सेनाको ११ नम्बर बाहिनीमा रहेको मध्य हवाई निर्देशनालयको भीभीआईपी फ्लाइटमा भएको अनियमिताले सेनाभित्र खैलाबैला मच्चिएको छ। भीभीआईपी फ्लाइटकी लेखा अधिकृत क्याप्टेन बनिता बीसीले एभिएसनको पाटपुर्जा खरिद तथा मर्मतका लागि इन्जिनियरिङ डिपार्टमेन्टले सिफारिस गर्नुपर्ने भए पनि आफूखुसी सामान खरिद तथा मर्मत गर्दा वेल हेलिकोप्टरको इन्जिनको वारेन्टीसमेत समयअघि नै गुम्न पुगेको छ। आजको नेपाल समाचार पत्रमा खबर छ।
लेखा अधिकृत बीसी र त्यहाँका एक जर्नेलको मिलेमतोमा वेल हेलिकोप्टरको बिग्रिएको फ्युल युनिट अर्कै जुन कम्पनीको हेलिकोप्टर हो त्यही कम्पनीसँग खरिद नगरी अर्को कम्पनीबाट खरिद गरी हालेपछि उक्त हेलिकोप्टरको वारेन्टी समय अघि नै गुज्रिएको एक उच्च सैनिक अधिकृतले जानकारी दिएका छन्।
फ्युल युनिटको १४ हजार डलर पर्ने भए पनि लेखा अधिकृत बीसीले २४ हजार डलरमा खरिद गरेको परिवर्तन गरी त्यसको लागत प्रमाणित गर्न इन्जिनियरिङ डिपार्टमेन्टलाई दबाब दिएपछि सो डिपार्टमेन्टले आफूसँग कुनै सल्लाह नै नगरी खरिद प्रक्रिया अगाडि बढाएको भन्दै लागत प्रमाणित नगरिदिएपछि लेखा अधिकृत बीसीले सो डिपार्टमेन्टका इन्जिनियरहरूलाई अन्यत्र सरुवा गर्न सैनिक मुख्यालयका उच्च अधिकारीलाई हरेक दिन दबाब दिएको ती अधिकारीले नेपाल समाचारपत्रलाई जानकारी दिए।
ती सामानको लागत प्रमाणित गर्न नमान्ने प्राविधिक महासेनानी शिव श्रेष्ठ र निरजप्रताप राणाको सरुवाका लागि लेखा अधिकृत बीसीले मुख्यालयका अधिकारीलाई समेत प्रभावित पार्दै आएको ती अधिकारीले जानकारी दिए। यसअघि भीभीआईपी सवार हुने सुपर पुमा हेलिकोप्टरको इन्जिन मर्मतका लागि चाहिने १८ करोड रुपियाँ अर्थ मन्त्रालयमा निकासाका लागि अनुरोध गरेको केही समयपछि नै हेलिकोप्टरको इन्जिन मर्मत गरेको भन्दै महालेखा परीक्षकको कार्यालयले १८ करोड रुपियाँ नै बेरुजु देखाइदिएपछि सैनिक मुख्यालयले समेत छानविन अगाडि बढाएको छ।http://setopati.com/
