भ्रष्टाचारका कारण वर्षेनी ३६ लाखको मृत्यु
भ्रष्टाचारका कारण विश्वमा हरेक वर्ष दशौँ लाख मानिसको ज्यान जाने गरेको र गरीब देशहरुबाट १० खर्ब अमेरिकी डलर बाहिरिने गरेको एक प्रतिवेदनले देखाएको छ ।
प्रतिवेदन अनुसार विश्वमा भ्रष्टाचारकै कारण हरेक वर्ष ३६ लाख मानिसले ज्यान गुमाउने गरेका छन् । अदृश्य कम्पनीहरुको प्रयोग तथा मुद्रा निर्मलीकरण लगायतका कार्यहरुबाट समेत चरम भ्रष्टाचार हुने गरेको रिपोर्टमा उल्लेख गरिएको छ ।
भ्रष्टाचारलाई टिकाइराख्न सघाउने गोप्यताको अन्त्य गर्ने तथा उठेको राजश्वलाई स्वास्थ्य क्षेत्रमा खर्चिनेहो भने कम आय भएका देशहरुमा हुने अधिकांस अकाल मृत्युलाई रोक्न सकिने ठम्याइ संगठनको छ ।
‘टि्रलियन डलर स्क्यान्डल’ नाम दिइएको उक्त प्रतिवेदनका अनुसार भ्रष्टाचारका कारण निजि लगानी निरुत्साहित भएको, आर्थिक वृद्धिदर घटेको, व्यवसाय संचालनको लागत बढेको तथा राजनीतिक अस्थिरता बढेको पाइएको छ ।
‘तर विकाशशील देशहरुमा भ्रष्टाचार हत्याराको रुपमा रहेको छ । जब सरकारहरुसँग स्वास्थ्य क्षेत्र, खाद्य सुरक्षा तथा अत्यावश्यक पूर्वाधारमा लगानी गर्नका लागि आफ्नै श्रोतको अभाव हुन्छ तब यसले मानिसको जिवनकै मूल्य चुकाउनुपर्छ, सबैभन्दा धेरै मृत्यु बालबालिकामा छ ।’ रिपोर्टमा भनिएको छ ।
सब सहारा क्षेत्रमा भ्रष्टाचार नियन्त्रण हुने हो भने हरेक वर्ष थप १ करोड बालबालिकालाई शिक्षा दिन सकिने, थप ५ लाख शिक्षकलाई तलब दिन सकिने तथा १ करोड १० लाख एच आइ भी संक्रमितलाई एन्टी रेट्रोभाइरल औषधि पूराउन सकिने दाबी रिपोर्टमा गरिएको छ ।
आउँदो नोभेम्बरमा अस्ट्रेलियामा हुने जी ट्वान्टी सम्मेलनमा भाग लिने नेताहरुलाई सुझाव दिँदै संगठनले आपराधिक क्रियाकलाप बाट आर्जन गरेको सम्पत्ति शुद्धिकरण गर्नका लागि कम्पनी तथा ट्रष्ट खडा गर्ने धन्दामा संलग्नको बारेमा जानकारी सार्वजनिक गर्न र यस विषयमा भएका समस्यासँग जुध्ने उपायको खोजि गर्न समेत आग्रह गरेको छ ।
onlinekhabar.com
