लेखा समितिमा कांग्रेस र राप्रपा नेपालको जुहारी


 व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिमा मनोनित सभासदसमेत रहेका अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष गणेश थापामाथि भइरहेको छानविनले राजनीतिक रंग लिन थालेको छ । लगातारको छलफलपछि पनि लेखाले एन्फामा भएको भनिएको अनियमिताबारे छलफल गर्ने बाहेक केही गर्न सकेको छैन ।

छलफल लम्बिँदै जाँदा कांग्रेसका सभासदहरु उजुरीकर्ताको पक्षमा खुलेर लागेका छन् भने राप्रपा नेपालका सभासद गणेश थापाको बचाऊमा उत्रिएका छन् । गणेश थापाविरुद्ध उजुरी दिने एन्फाका उपाध्यक्ष कर्मा छिरिङ शेर्पा कांग्रेस नेता जिपछिरिङका भाइ हुन् भने गणेश राप्रपा नेपालका अध्यक्ष कमल थापाका भाइ हुन् ।
नेताको पारिवारिक सम्बन्धको छाँया लेखा समितिको छलफलमा देखिएको छ । कांग्रेस सभासदहरुले एन्फामा अनियमितता भएको ठोकुवा गर्दै थापालाई निलम्बन गर्नुपर्ने माग गर्न थालेका छन् । राप्रपा नेपालका सभासदहरु भने गणेश थापाको बचाउमा खुलेर लागेका छन् ।
लेखा समितिको शुक्रबारको बैठकमा कांग्रेस सभासद रामहरि खतिवडाले एन्फा अध्यक्ष गणेश थापाले लेखा समितिको अपमान गरेको आरोप लगाए । ‘म फलानो थापाको सन्तान हुँ भनेर लेखालाई धम्क्याउने काम भएको छ’ उनले भने ।
एन्फाले नेपालमा जतिवटा बैंक छन्, ती सबैमा खाता खोलेको पाइएको छ । तीमध्ये कुनै बैंकमा २/३ वटासम्म खाता रहेको पाइएको भन्दै सभासद खतिवडाले यसको आम्दानीको स्रोत के हो भनी बैठकमा प्रश्न गरे ।
राष्ट्रिय खेलकुद परिषदको छानविन र लेखा परीक्षण रिपोर्टले समेत अनियमिता भएको देखाएको उनको दाबी छ । उनले भने- ‘एन्फाले पठाएको पत्रमा नै ७२ लाख ब्याजबाट आएको रकम देखाइएको छ । त्यसको सावाँ कहाँ छ ?’
थापालाई सभासदमा मनोनित गरेकोप्रति संकेत गर्दै खतिवडाले कुनै पदमा मनोनित हुुँदैमा अनियमितालाई गम्भीर रुपमा नलिए लेखा समितिको साख गिर्ने बताए ।
तर, खतिवडापछि बोलेका राप्रपा नेपालका सभासद दिनेश श्रेष्ठले विषयवस्तुभन्दा बाहिरबाट आरोप प्रत्यारोप लागेको गुनासो पोखे । ‘केही साथीहरु उहाँको पछि लागेको देखिन्छ’ श्रेष्ठले भने-’अनियमिता छ भनेर ठूलो स्वरमा आरोप लगाउँदैमा समितिले भन्न मिल्दैन ।’
संविधानसभामा रहेका अन्य सभासदमाथि पनि विभिन्न आरोप लगेको होला भन्दै श्रेष्ठले लेखामा छानविन भइरहेको छ भन्दैमा २६ सभासदमा किन मनोनित गरियो भनेर प्रश्न उठाउन नहुने बताए ।
अर्का सभासद भास्कर भद्राले मातहतका अन्य निकायले पनि छानविन गरिरहेको भन्दै राय बाझिन सक्ने भएकाले लेखा समितिले अहिले छानविन रोक्नु पर्ने धारणा राखे ।
कार्यक्षेत्रभित्र रहेर छानविन : सभापति शर्मा
सभासदहरुको आरोप प्रत्यारोप सुनेपछि समितिका सभापति जर्नादन शर्मा प्रभाकरले लेखा समितिले आफ्नो कार्यक्षेत्रभित्र रहेर छानविन गरिरहेको बताए । ‘आग्रह पूर्वाग्रहका आधारमा भन्दा छानविन गरेको होइनौं’ उनले भने-’छलफलमा उठेका तर्कहरुलाई अन्यथा नलिऔं र निर्णय नभएसम्म पनि आरोपित नगरौं ।’
एन्फा अध्यक्षले आफूलाई न्याय चाहियो भनेको प्रति संकेत गर्दै उनले भने-’हामीले न्याय दिन भनेको के ? भ्रष्टाचार गरेकोलाई नछाड्ने र नभएकोलाई नपार्ने हो ।’
बैंक स्टेटमेन्ट माग गर्ने निर्णय
समितिले एन्फाको बैंक स्टेटमेन्ट माग गर्ने निर्णय गरेको छ । साथै आन्दानी र ब्याजको विवरण र अन्य निकायबाट आएको रकमबारे पनि हिसाब मागेको छ । एन्फाले बुझाएको आय-व्यय विवरणसहितका कागजपत्र लेखाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग पनि माग्ने भएको सभापति शर्माले बताए ।
onlinekhabar.com

, , ,

news and entertainment