खरेलमाथिको कारबाही प्रक्रिया स्थगित
संगठनको नीति र पदीय आचरणविपरीत अभिब्यक्ति दिएको आरोपमा छानबिनमा तानिएका एसएसपी रमेश खरेलमाथिको कारबाही प्रक्रिया स्थगित गरिएको छ । तत्कालिन डीआइजी विज्ञानराज शर्मा (हाल एआइजी) नेतृत्वको छानबिन समितिले खरेललाई कारबाहीको सिफारिस गरे पनि हेडक्वाटरले रोकेको छ ।
कारबाही गर्दा एसएसपी खरेलको आगामी करिअरमा ठूलो धक्का लाग्न सक्ने भएकोले आइजीपी उपेन्द्रकान्त अर्यालले कारबाही प्रक्रिया स्थगित गरेको स्रोतले बताएको नयाँ पत्रिकामा खबर छ।
प्रहरी संगठनभित्र खरेल भावी आइजीपीका रुपमा हेरिएका अधिकृत हुन् । हालको नियमावली अनुसार २८ बैशाख ०७४ पछि उनकै ब्याचबाट आइजीपी छानिनेछ । त्यसबेला खरेलसँगै एसएसपी सर्वेन्द्र खनाल, राजेन्द्रमान श्रेष्ठलगायत प्रतिष्पर्धी हुनेछन् ।
गृह मन्त्रालयले सोमवार खरेललार्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुरमा सरुवा गरेको छ । उनी विभागका कार्यरत थिए ।
काठमाडौ प्रहरी प्रमुख रहेका बेला गत ११ जेठमा नेपाल प्रहरी क्लवमा आयोजित एक कार्यक्रममा खरेलले भाषण गर्दे ‘एआइजी बढुवामा ब्रिफकेसको चलखेल भइरहेको’ बताएका थिए । कार्यक्रममा उपस्थित परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसित उनले ब्रिफकेस बोक्नेहरुलाई बढुवा नगर्न आग्रह गरेका थिए । त्यसबेला विवादका कारण एआइजी बढुवा लम्बिरहेका थियो ।
dainiknepal.com
