हङकङमा जारी आन्दोलनमा सहभागी नहुन नेपालीलाई आग्रह
चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा जारी सरकार विरोधी आन्दोलनमा नेपालीहरु सहभागी नहुन त्यहाँस्थित महावाणिज्यदूतावासले अपिल गरेको छ । कुनैपनि मित्र राष्ट्रको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने घोषित नीति एवं नेपालले अंगीकार गर्दै आएको ”एक चीन नीति” प्रतिको प्रतिबद्धता अनुसार व्यवहार प्रस्तुत गर्न अनुरोध गरिएको हो ।
महावाणिज्यदूत महेशप्रसाद दाहालले कान्तिपुरसँग भन्नुभयो–”यो चीनको आन्तरिक मामिला हो, नेपाल एक चीन नीति प्रति दृढ छ”, ”आफ्नो मुलुकको नीतिलाई सम्मान गर्दै यहाँ रहेका नेपालीहरु आन्दोलनमा सहभागी नहुनहोस् भन्ने सरकारको अपिल हो ।”
गत ३१ अगष्टमा चिनियाँ कम्युनिष्ट पार्टी, नेसनल पिपुल्स कंग्रेसको स्थायी कमिटिले सन् २०१७ मा हुने निर्वाचनमा ”एक व्यक्ति एक भोट” नीति लागु हुने भएपनि हङकङको कार्यकारी प्रमुखमा पूर्व निर्धारित व्यक्तिमात्र उम्मेदवार हुन पाउने कानुन पारित गरेपछि यसको चर्को विरोध सुरु भएको हो ।
महावाणिज्यदूतावासद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ”हङकङमा रहेका नेपाली दाजुभाई दिदीबहिनीहरुलाई एक चीनप्रतिको नेपाली प्रतिवद्धता अनुरुप आफ्नो व्यवहारलाई व्यवस्थित गर्नुहुन र हाल भइरहेको कुनैपनि गतिविधिमा प्रत्यक्ष एवं परोक्ष संलग्न नहुन अपिल गर्दछ ।”
