इन्चन एशियाडमा नेपालकी अनुले कराँतेमा अन्तिम प्रतिस्पर्धा गर्ने



इन्चन एशियाडमा एकमात्र पदक हात पारेको कराँतेको कुमितेमा ५० केजीमुनि स्पर्धा गरेर नेपालले आज सहभागिताको अन्त्य गर्दैछ । गेयाङ जिम्नेजियममा हुने सो स्पर्धामा अनु अधिकारीमाथि मुलुकले अर्को पदकको आशा गरेको छ । प्रिक्वाटरफाइनलमा थाइल्याण्डकी टिप्पवन खास्मीसाग भिड्दा धैर्य नगुमाउन प्रशिक्षक दीपक श्रेष्ठले सुझाव दिएका छन् । अनु भन्छिन्, ‘संयोगले मेरै फाइट अन्तिम परेको छ । म सबैलाई खुशी दिलाउन भरसम्भव प्रयास गर्छु ।’
एशियाडको अन्तिम दिन आज कराँतेमा ३ स्वर्ण, टेबलटेनिसमा २ र सफ्ट टेनिसमा पनि समान २ स्वर्णकै लागि प्रतिस्पर्धा हुदैछ ।
अहिलेसम्म चीनले अपेक्षा गरे अनुरुप सर्वाधिक १ सय ४९ स्वर्णसहित कुल ३ सय ३७ पदक जितिसकेको छ । त्यस्तै, आयोजक दक्षिण कोरियाले ७७ स्वर्णसहित समग्रमा २ सय २८ पदक जित्दा जापानले ४६ स्वर्णमा चित्त बुझाउादा कूल १ सय ९५ पदक कुम्ल्याएको छ ।
पदक तालिकामा ३७ औं स्थानमा रहेको नेपालले एकमात्र काश्यपदक कराँतेको कातामा जितेको थियो । जसमा विमला तामाङले मुलुकलाई इन्चनबाट खाली हात फर्किनबाट जोगाएकी थिइन् ।
यसैबीच, इन्चन एशियाड आज समापन हुँदैछ । साँझ ६ बजेपछि इन्चन एशियाड मेन स्टडियममा हुने समारोह आगामी ४ वर्षपछि इण्डोनेसियामा भेट्ने बाचासहित सकिंदैछ । कार्यक्रम राति साढे ९ बजे सकिनेछ । समापन समारोहमा ओलम्पिक कमिटी अफ एशियाको झण्डा १८ औं संस्करणको प्रतियोगिता आयोजना गर्ने इण्डोनेशिसयालाई हस्तान्तरण गरिनेछ । कार्यक्रममा भन्दा पनि आयोजनामा बिशेष ध्यान दिएको दक्षिण कोरियाले समापन समारोहलाई भने यादगार बनाउने बताएको छ ।
समारोहको मुख्य आकर्षण प्रतियोगिताका मोष्ट भ्यालुएबल प्लेयर घोषणा कार्यक्रम हुनेछ । यो भिडन्तमा दक्षिण कोरियाली फेन्सर नाम ह्युन ही, जुडोका कीम जाए बुम, चीनकी आर्टिस्टिक जिमन्यास्ट याओ जिननान र शुटर काओ यिफि, जापानका पौडीबाज कोसुकी हागिनो, थाइल्याण्डका सेपाकताक्रो खेलाडी पिचान सुरियान, मलेसियाली स्क्वास प्लेयर डेभिड निकोल एन र उत्तर कोरियाली भारोत्तोलक किम उन गुक रहेका छन् ।

,

news and entertainment