कालोबजारीलाई तह लगाउने विद्यार्थीको घोषणा

काठमाडौँः विभिन्न विद्यार्थी संगठनले कालोबजारीलाई तह लगाउने घोषणा गरेका छन् ।

शुक्रबार कालोबजारी, महँगी र भ्रष्टाचारका विरूद्ध संयुक्त विद्यार्थी सङ्गठनले गरेको विरोध प्रदर्शनमा बोल्दै विद्यार्थी नेताले कालोबजारीलाई तह लगाउने घोषणा गरेका हुन् ।


शुक्रबार अपराह्न भृकुटीमण्डपबाट सुरू भएको विरोध जुलुस पुतलीसडक, बागबजार हुँदै रत्नपार्कमा पुगी कोणसभामा परिणत भएपछि सभालाई सम्बोधन गर्दै नेपाल विद्यार्थी संघका प्रवक्ता युपी लामिछानेले भने, ‘हामी कालोबजारी गर्नेलाई घुँडा टेकाएर छाड्नेछौँ ।’

सभालाई सम्बोधन गर्दै अनेरास्ववियुकी अध्यक्ष नवीना लामाले कालोबजारीको अन्त्य नभएसम्म विद्यार्थी सङ्गठनले सुरू गरेको संयुक्त र एकीकृत सङ्घर्ष जारी राख्ने बताइन ।

अखिल (क्रान्तिकारी) का उपाध्यक्ष रञ्जित तामाङले खुलेआम कालोबजारी हुँदा समेत सरकारले कुनै कारबाही गर्न नसकेको आरोप लगाए ।

नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रन्तिकारी)का उपाध्यक्ष वीरेन्द्र बस्नेत, अखिल (छैटौँ)का अध्यक्ष अनिलकिशोर घिमिरे, अखिल(पाँचौँ)का अध्यक्ष घनश्याम मिश्रलगायतले कालोबजारी अन्त्यका लागि कडा सङ्घर्ष गर्नुपर्नेमा जोड दिए । रासस
annapurnapost

,

news and entertainment