सेनामा बस्न्यात र थापाको राजनीति, चीनले दिएको ४९ करोड गोप्य नै
काठमाडौं, २२ चैत । प्रधानसेनापतिको दाबेदार मानिकाए उपरथी विनोज बस्न्यातको दुई वर्षे नियमित पदावधि नथपिँदा उनी चैत १६ गतेबाट अवकाशमा गएका छन् ।
उपरथीको एक कार्यकाल सकिएपछि स्वतः म्याद थपिनुपर्नेमा उनको नागरिकताको कागज नपुगेको भन्दै प्रधानसेनापति राजेन्द्र क्षत्रीले रक्षा मन्त्रालयमा प्रस्ताव नै अघि बढाएनन् । बरु, बस्न्यातभन्दा जुनियर सुन्दर पुडासैनीको म्याद दुई वर्ष थपियो । स्वभावतः दुई वर्षे म्याद थपिएको भए २०७४ भदौदेखि उनी नै प्रधानसेनापति हुने थिए । तरुण साप्ताहिकले समाचार छापेको छ ।
क्षत्रीको रोजाइमा बस्न्यात नपर्नुमा पारिवारिक कारण पनि जोडिएको बुझिएको छ । बस्न्यात पूर्वप्रधानसेनापति गौरवशम्शेर राणाका निकटस्थ हुन् ।
तर तिनै गौरवका निकटस्थ मानिएका र तीनवटा नागरिकता फेला पारेपछि तत्कालीन रक्षा सचिव ईश्वरी पौडेलले फाइल फर्काइदिएका जगदीशचन्द्र पोखरेललाई भने एक तारेबाट दुई तारे जर्नेलमा बढुवाका लागि उनैले फाइल अघि बढाएका छन् ।
मध्यपृतनापति उपरथी देव सुवेदीको पनि हालत त्यही थियो । फरक फरक नागरिकता र फरक उमेरका जर्नेलद्वय पोखरेल र सुवेदीको बुढुवामा प्रधानसेनापति क्षत्री आन्तरिक रुपमा विवादमा आएका थिए । अहिले बस्न्यातलाई फालेपछि उनीमाथि ‘कसैलाई काखा कसैलाई पाखा’ लगाउन खोजेको आरोप लाग्न थालेको छ ।
बस्न्यात सेनापतिका लागि योग्य नभएको सेनापति र उनको पारिवारिक सर्कलको निष्कर्ष रहनुमा नातेदारहरूको दबाब आएको बुझिएको छ ।
सेनापति क्षत्री आफ्ना नातेदार पूर्णचन्द्र थापालाई सेनापति बनाउन चाहन्थे, उनलाई कथंकदाचित बनाउन नसके अर्का नातेदार हेमन्त कुँवरलाई चिफ बनाउने उनको भित्री इच्छा थियो । कुँवर सम्भार र प्रबन्ध रथी हुन् भने थापा बलाध्यक्षरथी । थापाको रथीको म्याद एकवर्ष थपियो भने मात्रै उनी प्रधानसेनापतिको लाइनमा हुनेछन् । चिफ बनाउनकै लागि कसैको म्याद थपको इतिहास भने छैन ।
विदेशी सैन्य मिसनमा रहँदा उताको समय रहेको, यता जागिरको म्याद गएको अवस्थामा मात्रै सजिलोका लागि म्याद थप गिरिँदै आएको छ । यसमा बालानन्द शर्मालगायत अत्यन्तै थोरैले मात्रै त्यस्तो अवसर पाएका छन् । अब थापाले बाजी मार्ने हुन् कि होइनन् ? हेर्न बाँकी छ । तर विनोजलाई प्रधानसेनापति बन्नबाट रोक्न म्याद नथपी घर पठाइदिने भूमिका निर्वाह गरेका रथी थापा आफूसँग कति विश्वास्त छन् भन्ने बुझ्न सकिएको छैन ।
गौरवशम्शेरले यसैगरी पवनबहादुर पाँडे र नरेश बस्नेतलाई काखी च्याप्दै लगेर अन्तिममा दुई बल्ड्याङ पछारिएका थिए ।
अहिले रथी पूर्णचन्द्रको हालत त्यस्तै हुने हो कि भन्ने चर्चा पनि जंगी अड्डामा चलेको छ ।
चिफ बन्न बस्न्यातले गरेको राजनीति र चिफबाट बस्न्यातले गरेको राजनीतिले सेना अराजनीतिक होइन, राजनीतिक संस्था जस्तो हो कि भन्ने भान पर्न थालेको छ ।
बस्न्यातको ठाउँमा प्रधानसेनापतिका सैनिक सहायक सहायकरथी पूर्ण सिलवाललाई बढुवाका लागि पठाउने तयारी भएको छ ।
यता, प्रधानसेनापति चीन भ्रमणमा गएर फर्के पनि चिनियाँ सेनाबाट ४९ करोड रुपियाँ सहायता लिएको विषयलाई सेनाले अहिलेसम्म गोप्य राखेको छ ।
dainiknepal
