तेस्रो मुलुकबाट १० हजार टन ग्यास ल्याइने
काठमाडौं – भारतबाट मागअनुसार ग्यास आयात हुन नसकेपछि सरकारले तेस्रो मुलुकबाट ल्याउन गृहकार्य गरेको छ । आपूर्ति मन्त्रालयका अनुसार ग्यासको माग बर्सेनि १३ देखि १५ प्रतिशतले बढेको छ । सोहीअनुसार भारतीय आयल कर्पोरेसन्स (आइओसी) ले ग्यास दिन नसकेपछि तेस्रो मुलुकबाट ल्याउने तयारी गरेको हो ।
‘तेस्रो मुलुकबाट ग्यास आयत गर्न नीतिगत तहबाट छलफल हुँदैछ, मन्त्रीपरिषद्को स्वीकृतिअनुसार तेस्रो मुलुकबाट आयात सुचारु गर्छौं,’ मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्दराम रेग्मीले भने । नेपाल आयल निगमले ग्यासको मासिक कोटा करिब ३० हजार टन तोकेको छ । ग्यासको मासिक कोटा ४० हजार टन पुगे ग्यास अभावको समस्या हटेर जाने मन्त्रालयको दाबी छ । भारतमा पनि ग्यासको माग बढ्दै गएकाले तत्काल ४० हजार टन दिन नसक्ने मन्त्रालयले जनाएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।
