कांग्रेसमा सिटौला र गगनहरुको प्रयास असफल, अन्नतः जे नहुनु थियो त्यही भयो !

काठमाडौं, २३ चैत । संसदीय दलको नेता छान्ने तरखरमा रहेको प्रतिपक्षी दल नेपाली कांग्रेसमा कृष्ण सिटौला र गगन थापा समूहको प्रयास असफल भएको छ ।
उनीहरुले आइतबार पार्टी एकढिक्का बनाउन संसदीय दलको नेतालाई सर्वसम्मत चयनको प्रयास र प्रस्ताव पार्टी नेतृत्वलाई गरेका थिए । तर, त्यसको विपरित सोमबार सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
सोमबार विहान दुबै नेता आफ्नो दलबलसहित संसदीय दलको कार्यालय सिंहदरबार पुगेर उमेदवारी दर्ता गरेका हुन् ।
आफ्नो समूहमा २५
जना सांसदहरु रहेको बताउने सिटौला समूहको आइतबारमात्रै संसदीय दलको निर्वाचनको सन्दर्भमा छलफल गर्न भेला बसेको थियो । भेलाले संसदीय दलको निर्वाचनमा सहमतिबाटै नेतृत्वको चयनका लागि आह्वान गर्दै त्यसका निम्ति पहल गर्ने निष्कर्ष निकालेको थियो ।
नेपाली काँग्रेस १३ औं महाधिवेशनमा पहिलो चरणमा सभापति पदमा कसैको पनि आवश्यक मतसंख्या नपुगेपछि दोस्रो चरणको मतदानमा प्रवेश गर्नु अगावै पहिलो चरणको मतदानमा व्यक्त मतको समेत सम्मान गर्दै पार्टीभित्र सबैको भावना समेट्ने अवस्था सुनिश्चित गर्न गरेको आव्हान र पहलकदमीलाई स्मरण गर्दै संसदीय दलको निर्वाचनमा पनि सहमतिको लागि आह्वान गर्दै त्यसका निम्ति पहल गर्ने निष्कर्ष निकालिएको थियो ।
‘हाम्रो पहल र प्रयासका बाबजुत, पार्टी महाधिवेशनबाट नेतत्व छनौट गरेर फर्कदै गर्दा कुनै पनि गुटमा विभाजित भएको काँग्रेस होइन, एकतावद्ध भएको काँग्रेस भएको सन्देश लिएर जाने महाधिवेशनमा सहभागि प्रतिनिधि र सम्पूर्ण काँग्रेसजनको यहि चाहनालाई मुर्तता दिन सकेनौं । फेरि एकपटक संसदीय दलको निर्वाचनमा त्यो अवसर आएको छ। पार्टीको आवश्यकता र समग्र काँग्रेसजनको चाहनालाई समेत मध्यनजर गर्दै सवैको भावना समेटिने र महाधिवेशनमा व्यक्त मतको सम्मान हुने गरि सहमतिमा नै संसदीय दलको नेतृत्व चयन गर्नु ठिक हुन्छ । त्यो एकताबद्ध काँग्रेसले मात्रै आज हाम्रा सामु देखिएका चुनौतिको एकमुष्ट सामना गर्न र राष्ट्रिय राजनीतिमा समेत सकारात्मक सन्देश प्रवाह हुन सक्छ । त्यसका निम्ति हामीले पहल गर्नुपर्छ ।’ भेलाले निर्णय गरेको थियो ।
तर, चैत २४ गते बुधबार (भोली) हुने निर्वाचनका लागि देउवा र पौडेल एकआपसमा भिड्ने निश्चित भएको छ । मिलेर जानुपर्ने सिटौला पक्षको मान्यता लत्याउँदै दुबैले उम्मेदवारी दर्ता गराएका हुन् ।
भोली हुने निर्वाचनमा नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ११ बजे देखि दिउँसो २ बजे सम्म मतदान हुनेछ ।
dainiknepal

,

news and entertainment