खसीको मासुबाट हुने नकारात्मक असरलाई घटाउने उपाय

खसीको मासुबाट हुने नकारात्मक असरलाई विभिन्न उपायले घटाउन सकिन्छ । खसीको छालामुनि पट्टिको भागमा ज्यादा फ्याट हुने भएकाले हटाउनु उपयुक्त हुन्छ । कुन अंग र भागको मासु हो, त्यसले पनि फ्याट निर्धारण गर्छ । तिघ्राको मासुमा फ्याट कम हुन्छ । ढाड र करङमा भने बढी हुन्छ । कलेजो, मिर्गौला, आन्द्रामा पनि फ्याट बढी हुन्छ । तसर्थ कुन भागमा फ्याट कम हुन्छ, त्यसतर्फ जोड दिनुपर्छ । फ्याट बढी भएको भाग नकिन्ने वा प्रयोग नगर्ने उपाय उपयुक्त हुन सक्छ । बोसो भएको भाग खाँदै नखानु नै राम्रो हो ।



तेलको प्रयोग कम गर्ने अर्को उपाय हो । मासुमा नै चिल्लो पदार्थ ज्यादा हुने भएकाले त्यसमा हाल्ने तेल र नुनलाई कम गर्न सकिन्छ । पकाउने क्रममा मासुबाट निस्कने चिल्लो पदार्थलाई फ्याँक्न सकिन्छ । मासु पकाएर बाँकी रहेको तेल अर्को पटक प्रयोग गर्नु हुँदैन । खाना पाकेपछि मासुको फ्याट ‘ग्रेभी’मा जान्छ । प्रायः सबैलाई त्यही झोल नै सबैभन्दा मीठो लाग्छ । तर, गे्रभी सकेसम्म कम खानु राम्रो हो ।

मासुजन्य परिकार खाँदा साग र सलादहरु ज्यादा प्रयोग गर्नुपर्छ । पेटमा मासु स“गस“गै फाइबर पनि पुग्यो भने त्यसले कोलेस्टेरोल शोषणलाई रोक्छ । मासु खाएपछि केही फलफूल पनि लियौँ भने तिनका फाइबरका कारण शरीरमा नकारात्मक असर नियन्त्रण हुन्छ । फाइबरको अनुपात मिलाएमा सामान्य अवस्थामा भन्दा दोब्बर मासु खाए पनि त्यसले खासै असर गर्दैन ।

मासु किन्नेदेखि, काट्ने, छान्ने, पकाउने र खाने बेलासम्म पनि सन्तुलन मिलाएको खण्डमा खराब कोलेस्टेरोलको असर रोक्न सकिन्छ । दशैँमा साग र सलाद खानै हुँदैन भन्ने सोच त्याग्नुपर्छ । त्यसैगरी मासुपछि डेजर्टका रूपमा मिठाईको साटो फलफूल प्रयोग गरेमा फाइदा हुन्छ । हामी मासु खान सक्छौँ । तर, विभिन्न चरणमा त्यसको नकारात्मक असरलाई न्यूनीकरण गर्दै जाने हो भने ज्यादा हितकर हुने देखिन्छ ।


कसले सावधानी अपनाउने ?
कोलेस्टेरोल, मोटोपन, युरिक एसिड र ग्यास्ट्रिकको समस्या हुनेले मासुको प्रयोग कम र ज्यादा होसियारीपूर्वक गर्नुपर्छ । खसी वा अरू रातो मासुभन्दा कुखुराको मासु राम्रो हो । धेरैमा यसले कोलेस्टेरोल बढाउँदैन भन्ने भ्रम छ । तर, यथार्थमा जुनसुकै जनावरजन्य उत्पादनले कोलेस्टेरोल बढाउँछ । खसीभन्दा माछा राम्रो हो । तर, त्यसलाई पनि तेलमा ज्यादा पकाएर खानुको साटो माइक्रोओभनमा ‘ग्रिल’ गरेर खानु राम्रो हो । स्वास्थ्यकर मासु पनि पकाउने विधि सही भएन भने अस्वास्थ्यकर हुने खतरा रहन्छ । कोलेस्टेरोल बढी हुनेले अण्डाको पहेँलो भाग खानु हुँदैन । स्वस्थ व्यक्तिले सातामा दुईवटा अण्डामात्रै खानु उपयुक्त हुन्छ । स्वास्थ्य खबर बाट ।
purbelinews

,

news and entertainment