एसएलसीको पेपर ‘स्क्यानिङ’ गरी चिट चोराउने पाँच शिक्षकमाथि मुद्दा चलाइयो
लहान, २२ चैत । एसएलसी परीक्षाको प्रश्नपत्र ‘स्क्यानिङ’ गरी विद्यालयभित्रै चिट बनाउँदै गरेको अवस्थामा पक्राउ परेका सिरहाको लहानस्थित एपोलो बोर्डिङ स्कुलका सहायक प्रिन्सिपलसहित पाँचजना शिक्षकमाथि प्रहरीले मुद्दा चलाएको छ ।
पक्राउ परेका एपोलो बोर्डिङ स्कुलका सहायक प्रिन्सिपल राकेश चौधरी, सोही विद्यालयका शिक्षक गिरीराज महतो, मिथिलेस यादव, रामबहादुर चौधरी र लक्ष्मण चौधरीमाथि शिक्षा ऐन, २०२८ अनुसार मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो ।
पक्राउ परेका पाँचैजना शिक्षकलाई इलाका प्रहरी कार्यालय लहानमा राखेर शिक्षा ऐनअन्तर्गत मुद्दा चलाई आवश्यक अनुसन्धान भइरहेको केसीले बताउनुभयो ।
शिक्षा ऐन, २०२८ मा परीक्षामा अमर्यादित कार्य गर्नेलाई कसुरको मात्रा हेरी रु एक लाखसम्म जरिवाना वा छ महिना कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था रहेको छ ।
यस्तै इलाका प्रशासन कार्यालय लहान र इलाका प्रहरी कार्यालय लहानबाट खटिएको इलाकास्तरीय अनुगमन टोलीले चिट बनाएर परीक्षार्थीलाई चोरी गराएको आरोपमा जनता डोमी चौधरी उच्च मावि पोखरभिण्डा परीक्षा केन्द्रबाट पक्राउ गरेको छ ।
पक्राउ परेका सिरहाको धनगढीमाई नगरपालिका–३ निवासी २२ वर्षीय बरुणकुमार भनिने बरुण देव हरिजनमाथि पनि प्रहरीले शिक्षा ऐन, २०२८ अन्तर्गत मुद्दा चलाएको छ ।
अनिवार्य अङ्ग्रेजी विषयको परीक्षामा कार्यालय सहयोगीको परिचयपत्र बोकेर खटिएका हरिजनले विद्यालयको शौचालयमा गई चिट तयार गरिरहेकै अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।
यस्तै सिरहाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जिल्लास्तरीय परीक्षा अनुगमन टोलीले जिल्लाको विभिन्न परीक्षा केन्द्रमा अमर्यादित कार्य गरेको आरोपमा पक्राउ गरेका २० जना निरीक्षकमाथि भन्ने प्रहरीले सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाएको छ । रासस
