'प्रेम प्रस्तावको त ओहिरो नै लाग्छ' – रिता कट्टेल, भीजे
काठमाडौँ, २० वैशाख, हेटौडामा जन्मिएर पूर्वको सुन्दर नगरी इटहरीलाई कर्मथलो बनाएकी रीता कट्टेल पूर्वका चर्चित भिडियो जक्कीमा परिचित नाम हो । पूर्वाञ्चलमा भीजेको रुपमा आफ्नो बेग्लै छवि बनाउदै गरेकी इटहरीकी स्थायी बासिन्दा कट्टेल चुलबुले स्वभाव भएपनि कम नै बोल्न रुचाउछिन् । सामाजिक सञ्जालमा पनि खासै कुराकानी नगर्ने बताउने कट्टेललाई कतिले घमण्डी पनि भन्ने गरेका छन् रे ! तथापि आफू कम बोलेकै कारण घमण्डी भन्न नमिल्ने उनको तर्क छ ।
आकर्षक शारीरिक बनावट मात्रै होइन त्यति नै सुन्दर समेत देखिने कट्टेल झट्ट हेर्दा कुनै चलचित्रकी नायिका भन्दा कम लाग्दिनन् । सानैदेखि टेलिभिजनको रङ्गिन दुनियाँमा प्रवेश गर्ने सपना बुनेसँगै कट्टेलले पूर्वाञ्चलको पहिलो टेलिभिजन मकालु टेलिभिजनमा आवद्ध रहँदै विभिन्न कार्यक्रम सञ्चालन गरेर आफ्नो बच्चैदेखिको चाहना पूरा गरेको तर्क गर्छिन् । अन्य कार्यक्रमको तुलनामा उनले सञ्चालन गर्ने डायल मकालु अत्यन्तै लोकप्रिय छ ।
इटहरीकै विश्व आदर्श कलेजमा बीबीएस दोस्रो वर्षमा अध्ययनरत कट्टेललाई म्युजिक भिडियो तथा चलचित्रमा अफर गर्ने निर्माता तथा निर्देशकको कमी छैन । कट्टेलले अफर अत्याधिक आउने गरेको साथै नेपालका चर्चित निर्देशकले आफ्नो चलचित्रमा अभिनय गर्न आग्रह गरे तापनि आफ्नो पढाइलाई पुरा नगरी यस क्षेत्रमा हात नहाल्ने बताउँछिन् । चलचित्र क्षेत्रमा खासै रुचि नभएकाले पनि भविष्यमा भने चित्त बुझ्दो भूमिका पाएको खण्डमा चलचित्र तथा म्युजिक भिडियोमा देखिने कुरा नकार्न सक्दिनन् । तथापि उनको पहिलो प्राथमिकता भनेको अध्ययन भएको कुरा बताउँछिन् । अहिलेको समय चलचित्र वा म्युजिक भिडियोमा देखिने उपयुक्त समय नभएको कट्टेलको तर्क छ । डायमण्ड शमशेरको ऐतिहासिक कृतिमा आधारित चलचित्र सेतो बाघमा समेत अभिनय गरिसकेकी कट्टेल आगामी दिनमा पेशागत रुपमा नै नभए तापनि अनुभवका लागि भएपनि अध्ययन पश्चात चलचित्रको रंगिन दुनियामा प्रवेश गर्ने तर्फ उनी संकेत गर्छिन् । पूर्वका विभिन्न सञ्चार माध्यमहरुमा व्यक्तित्व विकास तथा कार्यक्रम प्रस्तोताको कक्षाहरु समेत दिइसकेकी कट्टेल मिस नेपाल जस्तो ब्युटी प्याजेन्टलाई समेत नजिकबाट नियालिरहेकी छन् । भविष्यमा उपाधि जित्न भन्दा पनि नयाँ कुरा सिक्न कै लागि भएपनि यस प्रतियोगितामा सहभागिता जनाउन सक्ने कुरा कट्टेल बताउँछिन् ।
टेलिभिजनमा कार्यक्रम सञ्चालनका अतिरिक्त पूर्वमा हुने गरेका विभिन्न स्तरिय स्टेज कार्यक्रममा समेत उद्घोषणमा उनको लोकप्रियता बढ्दो छ । भविष्यमा समेत सफल मिडियाकर्मी कै रुपमा सदैव क्रियाशिल हुने लक्ष्य राखेकी कट्टेल परिवारको सपोर्टका कारण पनि यो स्थानमा आउन सफल भएको कुरा बताउँछिन् । परिवारले सानो छँदा नर्स बनाउन चाहेको भए तापनि दिदी अञ्जना कट्टेल सुवेदी मिडिया क्षेत्रमा आवद्ध भएका कारण आफूलाई मिडियामा आउन सजिलो भएको कुरा स्वीकार्छिन् साथै यो स्थानसम्म आउन यो श्रेय आफ्ना परिवारलाई दिन्छिन् ।
पूर्वमा मात्र नभएर विभिन्न क्षेत्रबाट स्टेज प्रोगाम उद्घोषणका लागि अफर आए तापनि समय अभावका कारण ती स्थानमा जान नपाउँदा भने निकै दुःख लाग्ने गरेको उनको भनाइ छ । चलचित्रमा अफरको ओइरो नै आउने गरेको बताउँने कट्टेल फोन र सामाजिक सञ्जालमा मात्र नभएर भेटकै क्रममा पनि कतिपय निर्देशकहरुले चलचित्रका लागि अफर गरेको बताउँछिन् । तर आफू अहिले चुजि भएको कुरा समेत उनी स्वीकार गर्छिन् ।
फुर्सदमा पुस्तक पढ्न तथा गीत गुनगुनाउन रुचाउने कट्टेल साथीहरुसँग घुम्न तथा फोटो खिच्न पनि उत्तिकै सौखिन छिन् । सामाजिक क्षेत्रमा समेत उत्तिकै चासो राख्ने कट्टेल बेला बेला सामाजिक क्षेत्रका कार्यमा सरिक हुन पाउँदा निकै हर्षित हुने गरेको बताउँछिन् । साथै कट्टेल समाजिक क्षेत्रमा भविष्यमा कुनैपनि पाटोबाट नजिक रहने कुरा समेत बताउँछिन् । अविवाहित कट्टेललाई प्रेम प्रस्तावको ओइरो नै आउने गरेको छ रे ! उनी भन्छिन्, 'प्रेम प्रस्ताव आउनेको कुनै कमी छैन ।' यद्यपि हालसम्म सिंगल नै रहेको बताउँने कट्टेल सानैदेखि संस्कारिलो हिन्दू पारिवारिक माहोलमा हुर्किएका कारण आफूले अरुलाई आदर सत्कार गर्न सके अरुबाट पनि आदर सत्कार अनि सम्मान पाउने बताउँछिन् ।
(भिजे रिता कट्टेलसँग भूमिका पाख्रिनले गरेको कुराकानीको सम्पादित अंश)
aajakokhabar
