थुनामुक्त भएपछि पत्रकार दीक्षितले साटेको खुशी
फोटो :सन्तोष घिमिरे
काठमाडौँः भ्रष्टाचारको आरोपमा पक्राउ परेका साझा यातायातका अध्यक्ष एवम् हिमाल मिडियाका सञ्चालक पत्रकार कनकमणि दीक्षितलाई थुना मुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
सर्वोच्चको आदेश लगत्तै दीक्षितले मुस्कुराएर तस्बिर खिचाएका छन् । दीक्षीतले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैशाख १० गते पक्राउ गरेको थियो ।
वैशाख १२ गते विशेष अदालतले १० दिन थुनामा राखेर अनुसन्धान गर्न दिएको आदेश अनुसार अख्तियारले अनुसन्धान गरिरहेको थियो । दीक्षित पत्नी शान्ताले गैरकानुनी थुनामा राखेको भन्दै वैशाख १५ गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन ।
शान्ताले दायर गरेको रिटमा सुनुवाई गर्दै सर्वोच्चका कायम मुकायम प्रधान न्यायाधीश सुशीला कार्की र न्यायाधीश जगदीश शर्मा पौडेलको संयुक्त इजलासले सोमबार दीक्षितलाई थुनामुक्त गर्न आदेश दिएको हो ।
सर्वोच्चले थुनामुक्त गर्न आदेश दिए सँगै विशेष अदालतले दीक्षितलाई थुनामा राखी अनुसन्धान गर्न दिएको आदेश समेत खारेज भएको छ । सर्वोच्चले थुनामा राखिराख्ने आधार नभएकाले विशेष अदालतको आदेश खारेजको फैसला गरेको छ ।
आगामी दिनमा दीक्षित विरुद्ध भ्रष्टाचार सम्बन्धी अनुसन्धान गर्नु परे साधारण तारिखमा राखी अनुसन्धान गर्न समेत अख्तियारको नाममा सर्वोच्चले परमादेश जारी गरेको छ ।
दीक्षितले सर्वोच्चको फैसलापछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै भने, ‘म अदालतप्रति आभारी छु । यो मेरो एक्लो लडाइँ होइन ।’
सर्वोच्चको फैसला पछि दीक्षितले कुन्दन दीक्षित र श्रीमती शान्ता आफन्तजन र अन्य शुभचिन्तकसँग सर्वोच्च परिसरमा खुशी साटासाट गरे ।
annapurnapost