राष्ट्रिय महिला लिगको उपाधिमा पुलिसको ह्याट्रिक


बैशाख २०, ललितपुर ।
नेपाल पुलिस क्लबले राष्ट्रिय महिला लिग फुटवलको उपाधिमाथि ह्याट्रिक गरेको छ । उपाधिको निर्णायक मानिएको सुपर लिगको अन्तिम खेलमा आज पूर्वाञ्चललाई २–१ ले पराजित गर्दै पुलिसले उपाधि जितेको हो । पहिलो र दोस्रो संस्करणको उपाधि पनि पुलिसले जितेको थियो ।
ससस्त्र प्रहरीको एपीएफ क्लबसँग समान ६ अंक भएपनि हेड टु हेडका आधारमा पुलिस च्याम्पियन बन्यो । सुपर लिगको खेलमा आर्मी एपीएफसँग २–१ ले र एपीएफ पुलिससँग ३–१ ले पराजित भएका थिए । पुलिस, एपीएफ र आर्मीको समान ६ अंक भएपनि हेड टु हेडका आधारमा उपाधि विजेताको टुङगो लागेको हो । सुपर लिगमा पूवाञ्चल भने अंक बिहिन बन्यो ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलको ८४ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै निरु थापाले गोल गरेपछि पुलिसले उपाधि उचालेको हो । बिमला शेर्पाले डिबक्स भित्र हेण्डवल गरेपछि पुलिसले पेनाल्टीको मौका पाएको थियो ।  
अत्यन्तै प्रतिस्पर्धात्मक खेलको छैठौं मिनेटमा निरु कै गोलबाट पुलिसले अग्रता लिएको थियो । पहिलो हाफमा पुलिसले १–० को अग्रता लिएपनि ७० औं मिनेटमा हीना रानाले पूर्वाञ्चलका लागि गोल गर्दै खेल बराबरीमा ल्याएकी थिईन् ।
उपाधिसँगै पुलिसले २ लाख रुपैयाँ हात पार्‍यो भने दोस्रो भएको आर्मीले एक लाखमा चित्त बुझायो ।
यस्तै ससस्त्र प्रहरीकी साबित्री भण्डारी उत्कृष्ट फरवार्ड र अनिता बस्नेत उत्कृष्ट मिडफिल्डर, पुलिसकी खेमकुमारी गुरुङ उत्कृष्ट डिफेण्डर र आर्मीकी लीला लाम्घादे उत्कृष्ट गोलकिपर घोषित भए । पुलिसका सन्देश श्रेष्ठ उत्कृष्ट प्रशिक्षक चुनिए । बिधागत तर्फ सवैले २५ हजार नगद पुरस्कार प्राप्त गरे ।
प्रतियोगितामा बिभागीय ३ सहित ८ टीम सहभागिता थियो ।
radiokantipurdiary

,

news and entertainment