६० वर्ष नाघेका बिरामीलाई ५० प्रतिशत छुट
सरकारले ६० वर्ष नाघेका बिरामीको सम्पूर्ण उपचारमा ५० प्रतिशत छुट दिने भएको छ । तर, छुट सुविधा लिन तोकिएको अस्पतालमा गई उपचार गराउनुपर्ने खबर आजको नयाँ पत्रिकामा रामप्रसाद न्यौपानेले खबर लेखेका छन्।
ललितपुरको पाटन अस्पताल, काठमाडौं कीर्तिपुरस्थित आयुर्वेद शिक्षण अस्पताल, चितवनको भरतपुर अस्पताल, पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६० वर्ष नाघेकाले छुट पाउनेछन् । ती अस्पतालमा उपचार गराउन जाँदा ६० वर्ष नाघेको परिचय खुल्ने (नागरिकता वा अन्य परिचयपत्र) परिचयपत्र लिएर जानुपर्नेछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको जनसंख्या महाशाखाले पहिलो चरणमा पाँचवटा अस्पतालमा ‘जेरियार्टिक वार्ड’ स्थापना गरी वृद्धवृद्धाको उपचार प्रभावकारी गराउने व्यवस्था मिलाएको हो । महाशाखाका निर्देशक अनिल थापाका अनुसार सरकारले आगामी वर्षदेखि सेती अञ्चल अस्पताल धनगढी र भेरी अञ्चल अस्पताल नेपालगञ्जमा पनि वृद्धवृद्धालाई उपचार सेवा विस्तार गर्ने भएको छ ।
‘जेरियार्टिक वार्ड भएका अस्पतालमा उपचार गराउन जाने वृद्धवृद्धाका लागि टिकट काट्न लागि लाइन बस्नुपर्दैन । भर्ना भई गरिने उपचार, अप्रेसन तथा ल्याब टेस्टमा समेत ५० प्रतिशत छुट हुन्छ,’ थापाले भने, ‘तोकिएका अस्पतालमा बिरामी निको नहुने अवस्था आएमा अन्य अस्पतालमा रिफर गर्ने व्यवस्था पनि हुन्छ ।’
जेरियार्टिक वार्ड सञ्चालन भएका अस्पतालको वातावरण पनि वृद्धवृद्धामैत्री हुने बताइएको छ । पालो पर्खनका लागि बनाइएको वेटिङ रुमदेखि शौचालयसम्म ज्येष्ठ नागरिकमैत्री हुनेछ । जेरियार्टिक वार्डमा हुने १० बेडमध्ये पाँच पुरुष र पाँच महिलाका लागि छुट्याइनेछ ।
