यसरि गरियो जेष्ठ नागरिकलाई जनही १० हजार भत्ता प्रदान

५ बैशाख, काठमाडौ । काठमाडौँ महानगरपालिकाले पहिलो पटक जेष्ठ नागरिकलाई जनही एकमुष्ट रु १० हजार प्रदान गर्न सुरु गरेको छ ।

महानगरको २३औँ नगरपरिषद्को निर्णयअनुसार यस्तो भत्ता वितरण गरिएको हो ।

महानगरपालिका वडा नं १५ मा स्थायी बसोबास गर्ने ८८ वर्ष उमेर पूरा भएका १३ जना जेष्ठ नागरिकलाई स्वयम्भूस्थित वडा कार्यालयमा वार्षिक भत्तास्वरुप सो रकम आज वितरण गरिएको हो ।

संविधानसभा सदस्य नविन्द्रराज जोशीले भत्ता वितरण गर्दै महानगरपालिकासँग जेष्ठ नागरिकलाई दिनको समयमा स्याहार गर्ने एक केन्द्र र अपाङ्गता भएका व्यक्तिलाई जीवन उपयोगी तालिम दिन एक तालिम केन्द्र स्थापना गर्न आग्रह गरेका छन ।

कार्यक्रममा महानगरका सामाजिक विकास महाशाखा प्रमुख राज्यप्रकाश प्रधानाङ्गले जेष्ठ नागरिकलाई एकमुष्ट १० हजार रुपैयाँ प्रदान गर्ने क्रममा वडा नं. १५ को कार्यक्रम पहिलो भएको जानकारी दिएका थिए ।

सो अवसरमा वडा १५ का प्रशासकीय प्रमुख शिवजी भट्टराईले आफ्नो वडाबाट सङ्कलित राजस्वको पाँच प्रतिशत यस क्षेत्रमा खर्च गर्ने हो भने ७० वर्ष उमेर पूरा गरेका सम्पूर्ण नागरिकलाई भत्ता दिन पुग्ने बताए ।

महानगर क्षेत्रभित्र ८८ वर्ष उमेर पूरा गरेका २१७ जना जेष्ठ नागरिकको नामावली प्राप्त भइसकेको महानगरपालिकाले जनाएको छ । यसैबीच, सोही कार्यक्रममा पूर्ण अपाङ्ग तीनजनालाई जनही रु तीन हजार भत्ता प्रदान गरिएको छ । रासस

,

news and entertainment