किन गरे बाबुरामले विद्रोह ?
२४ बैशाख, काठमाडौ ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल शान्ति र संविधानको कार्यदिशा गौण बनाउँदै समाजवादी क्रान्तिका लागि बल प्रयोग अनिवार्य हुने निष्कर्षमा पुगेपछि नेता बाबुराम भट्टराईले आफू पक्षधर नेतालाई केन्द्रीय समितिबाट बाहिर निकालेर 'विद्रोह' गरेका छन्।
भट्टराईले 'पार्टीभित्रै रहने' गरी गरेको यस्तो विद्रोहलाई दाहाल पक्षले 'अदृश्य डिजाइनमा चालिएको असामान्य कदम' भनेको छ। योसँगै पार्टीभित्रका समस्या समाधान गर्न भनेर विराटनगरमा आयोजित राष्ट्रिय सम्मेलन समस्या बल्झाएर सकिएको छ। अब एक वर्षभित्र विशेष महाधिवेशन बोलाउनैपर्ने अवस्थामा एमाओवादी पुगेको छ। स्रोतका अनुसार भट्टराई बाहिरिएपछि स्वतन्त्र सर्वहारा धार बचाउन, पार्टीलाई दक्षिणपन्थी हुनबाट जोगाउन र जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गरी समाजवादी क्रान्ति गर्न बल प्रयोगमा सफल भएको विश्लेषण दाहालले गरेका छन्।
'क्षणिक रूपमा पार्टीलाई घाटा लागेजस्तो देखिए पनि राजनीतिक कार्यदिशा र संगठनात्मक विषयमा विजय भएका छौं', दाहाल निकट एक नेताले भने, 'पार्टीलाई राष्ट्रवादी र वामपन्थी धारबाट अगाडि बढाउन सफल भएका छौं।'
दाहाल पक्षका नेताहरूले शान्तिप्रक्रियासँगै दायाँतिर फर्किएको पार्टीलाई बायाँतिर फर्काउने कसरत गर्दा भट्टराई बाहिरिएको टिप्पणी गरेका छन्। नेकपा-माओवादीदेखि एमालेसम्मको एउटै कम्युनिस्ट केन्द्र बनाउने दाहालको राजनीतिक प्रतिवेदनलाई भट्टराईले अस्पष्ट वैचारिक धरातल र सारसंग्रहवादीको संज्ञा दिँदै शान्ति र संविधानको कार्यदिशालाई गौण महत्त्व दिएको आरोप लगाएका थिए।
भट्टराई पक्षका नेताले फरक मतलाई सम्मान नगरी निषेधात्मक संस्कृतिको विकास गर्न खोजेको र भट्टराईलाई समर्थन गर्नु अपराधजस्तो ठानिएका कारण विद्रोह गरिएको बताएका छन्। 'अध्यक्षलाई विश्वासिलो र सजिलो टिम बनाउन बाटो खुला गरिदिएका छौं। हामी नयाँ पार्टी बनाउने चक्करमा छैनौं', भट्टराईसँगै विद्रोह गरेका नेता देवेन्द्र पौडेलले अन्नपूर्णसँग भने, 'फेरि पनि दाहाल र बाबुरामलाई एक ठाउँमा ल्याउनुपर्छ।'
आफूहरूले केन्द्रीय कमिटी मात्रै छाडेको स्पष्ट पार्दै पौडेलले भने, 'पार्टीलाई पुनर्निर्माण र रूपान्तरण गर्ने हो। पार्टीमा संस्थागत निर्णय होस्। भिन्न मतको सम्मान होस् र मनोमानी नहोस् भन्ने हाम्रो माग हो। गलत प्रवृत्ति सच्चाउनुपर्छ।' दाहाल र नेता नारायणकाजी श्रेष्ठ पक्षधर नेता समेटिएको नयाँ केन्द्रीय समितिको निर्णय पर्खेर हेर्ने उनले बताए। उनले भने, 'हाम्रो आवश्यकता बोध भयो भने समेट्ने प्रक्रिया सुरु हुनेछ। हाम्रो आवश्यकताबिना अर्को विकल्प सोचिएको रहेछ भने त्यसपछि हामीले सोच्नुपर्छ। दाहालको नेतृत्वका विषयमा विमति होइन।'
दाहालले भट्टराई पक्षका १७ जनालाई केन्द्रीय समितिमा प्रस्ताव गरेका थिए। तीमध्ये आठजनाले सूचीबाट हटाइदिन आग्रह गरेपछि हटाइएको छ। भट्टराईसँगै पत्नी हिसिला यमी, टोपबहादुर रायमाझी, पौडेल, वामदेव क्षेत्री, प्रभु साह, गंगा श्रेष्ठ, देवी खड्का र खिमलाल देवकोटा हलबाट बाहिरिएका थिए।
भट्टराईका सहयोगी नेताले भने पार्टीमा फर्कने वा नफर्कने भन्ने दाहालको आगामी कार्यशैलीमा निर्भर रहने बताए। एक नेताले भने, 'अध्यक्षको आर्थिक, राजनीतिक र सांगठनिक नाकाबन्दीविरुद्धको विद्रोह हो। उहाँले फेरि बाबुरामको आवश्यकता ठान्नुभयो भने आफ्नो कार्यशैली परिवर्तन गर्नुहोला।'
स्रोतका अनुसार भट्टराईले रायमाझीलाई पदाधिकारी बनाउनुपर्ने माग गरेका थिए। तर पाँचजनाको पदाधिकारीमा दाहालले कृष्णबहादुर महरालाई लैजाने बताएपछि दाहाल र भट्टराईबीच विवाद बढेको हो। दाहाल र भट्टराईबीच ३५ वा ५१ सदस्यीय केन्द्रीय समिति बनाउने विक ल्पमाथि पनि छलफल भएको थियो।
राष्ट्रिय सम्मेलनबाट फेरि अध्यक्ष चयन भएका दाहालले भट्टराई पक्षलाई मनाउन निकै प्रयास भएको बताए। सम्मेलनले एक सय ५१ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको छ। सम्मेलन समापनमा दाहालले भने, 'केन्द्रीय समितिको प्यानल प्रस्ताव अध्यक्षको नाताले मैले नै गरेको थिएँ। त्यसमा भट्टराई पनि केन्द्रीय समितिमा बस्ने निर्णय भएको थियो। प्यानल सूचीमा सहमति नभएपछि असहमति राख्दै बस्ने भन्ने थियो। तर समितिमा नबस्ने निर्णय बिहानमात्र गर्नुभएछ। केन्द्रीय समितिमा नबसे पनि पार्टीलाई सहयोग गर्छु भन्नुभएको छ।' भट्टराई पक्षका आठजना बाहिरिएपछि सम्मेलनमा ८४ जनाको नाम पारित गराइएको थियो।
दाहाल पक्षका नेताले भने भट्टराई दुविधामा रहेको र बार्गेनिङ गर्दागर्दै फसेको टिप्पणी गरेका छन्। 'तत्कालका लागि पार्टीलाई घाटा लागेजस्तो देखिए पनि उहाँहरू पार्टीमै फर्कनुहुन्छ र त्यो घाटा पूर्ति हुन्छ', दाहाल पक्षका नेता अग्नि सापकोटाले भने।
क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने दिशामा सम्मेलन सार्थक भएको दाहालको दाबी छ। उनले भने, 'भट्टराई नहुँदा पक्कै अप्ठ्यारो भएको छ। यसलाई स्वीकार गरेकै छु। तर उहाँहरू आउनुहुन्छ भन्ने मलाई विश्वास छ।'
हलबाट बाहिरिएपछि भट्टराईले भने, 'म बुधबार चीन जाँदैछु। त्यसैले अलिक पहिले बाहिरिएको हुँ' उनी पत्नी हिसिला र छोरी मानुषीलाई लिएर चीन जाँदैछन्।
सम्मेलनले आठबुँदे विराटनगर घोषणापत्र जारी गर्दै मंगलबार अध्यक्षको राजनीतिक प्रतिवेदन र पार्टी विधान पारित गरेको छ। सम्मेलनपछि बसेको बैठकले दाहाल अध्यक्ष रहेको पार्टी केन्द्रीय कार्यालयमा श्रेष्ठ र पोस्टबहादुर बोगटीलाई सदस्य बनाएको छ। कार्यालय मुख्य सचिवमा हितराज पाण्डे, सचिवमा प्रह्लाद बुढाथोकी र डोरप्रसाद उपाध्याय चयन भएका छन्। पार्टी प्रवक्ताको जिम्मेवारी दिनानाथ शर्मालाई दिइएको छ। जेठ १ गते काठमाडौंमा बस्ने केन्द्रीय समिति बैठकले पदाधिकारी, स्थायी समिति र पोलिटब्युरो चयन गर्नेछ।
अन्नपूर्ण पोस्टबाट
अन्नपूर्ण पोस्टबाट
