दक्षिण अफ्रिकी राष्ट्रपतिद्वारा आफ्नी श्रीमतीको बलात्कार भएको जानकारी

२२ बैशाख, जोहानेसबर्ग । दक्षिण अफ्रिकी राष्ट्रपति ज्याकोब जुमाले निर्वाचनअगाडि आफ्नो घरजग्गाको सुरक्षाका लागि जनताले तिरेको दुई करोड ३० लाख अमेरिकी डलर बराबरको कर प्रयोग भएको विषयमा स्पस्टीकरण दिँदै सोमबार एक दशकअगाडि अपराधीहरू ग्रामीण भागमा रहेको आफ्नो घरजग्गामा प्रवेश गरी आफ्नी श्रीमतीलाई बलात्कार गरेको बताउनुभएको छ ।

उहाँले यी अपराधीहरूलाई पक्राउ गरिएको, अभियोग लगाइएको र दोषी प्रमाणित भएको बताउनुभयो । क्वाजुलु–नाटाल प्रान्तमा एनकान्ड्लामा रहेको उहाँको घरजग्गामा भएको यस घटनाका बारेमा यसअघि कहिल्यै उहाँको भनाइ सार्वजनिक भएको थिएन । उहाँले सन् २००९ मा राष्ट्रपति पद सम्भाल्नुभएको हो ।
jacobZuma south africa
त्यस समयमा उहाँका चार श्रीमती थिए र को यस्तो अपराधबाट पीडित भएको भन्ने सम्बन्धमा पनि उहाँले जानकारी दिनुएको छैन । उहाँकी एक श्रीमतीले आत्महत्या गरेकी थिइन र उहाँले अफ्रिकन युनियनका अध्यक्ष एनकोसाजाना डीलामिनी–जुमालाई पारपाचुके दिनुभएको छ ।

दक्षिण अफ्रिकामा बुधबार निर्वाचन हुने भएको छ र राष्ट्रपति जुमाले आफ्नो घरजग्गामा गर्नुभएको खर्चका लागि उहाँप्रति कडा आलोचना गरिएको छ । यस्तो घटना भए पनि उहाँले दोस्रो पाँच वर्षे कार्यकालका लागि विजय हासिल गर्ने अनुमान गरिएको छ ।

मार्च महिनामा सार्वजनिक लेखा परीक्षण संस्थाले राष्ट्रपतिले आफ्नो घरजग्गाको पुनर्निमाण गरी अनुचित रूपमा फाइदा लिएको फेला पारेको थियो । उक्त पुनर्निमाणमा पौडी पोखरी, हेलिप्याड तथा निजी क्लिनिक पनि समावेश भएका थिए । यस संस्थाले यस खर्चको केही भाग वहन गर्न उहाँलाई आदेश दिएको थियो ।

उहाँले केही व्यक्तिले मूल्य बढायो भने आफूले किन मूल्य ब्योहोर्ने भनी प्रश्न गर्नुभयो । उहाँले यस विषयलाई आमसञ्चार तथा प्रतिपक्षी दलले अगाडि बढाएको दाबी गर्नुभयो । उहाँले एनकान्ड्लाले जनताले एएनसीलाई दिने मतमा प्रभाव नपार्ने दाबी गर्नुभयो ।

पोन्डरिङ पान्डा नाम गरेको अनुसन्धान संस्थाले हालै गरेको अभिमत सर्वेक्षणमा दक्षिण अफ्रिकाका दुई तिहाइ युवाले उहाँले एनकान्ड्ला काण्डका कारण राजिनामा दिनुपर्ने धारणा व्यक्त गरेको देखिएको छ ।

एएनसीको रङ्गभेद विरोधी विगतका कारण यस पार्टीलाई अर्को बहुमत प्राप्त हुने देखिएको छ ।
दक्षिण अफ्रिकामा सन् १९९४ पछि भएका चार निर्वाचनमा अफ्रिकन नेसनल कङ्ग्रेसले विजय हासिल गरेको छ । उच्च बेरोजगारी, गरिबी तथा भ्रष्ट सरकारबीच पनि यस पार्टीप्रतिको समर्थन घटेको देखिएको छैन ।

बुधबार हुने निर्वाचनमा पनि एएनसीले ६३ प्रतिशत मत प्राप्त गर्ने इप्सोसले गरेको पछिल्लो अभिमत सर्वेक्षणमा देखिएको छ । यो सन् २००९ को निर्वाचनमा भन्दा तीन प्रतिशतले कम हो । रासस/एएफपी

,

news and entertainment