जेष्ठ ११ ,स्याङ्जा : मरेकी पत्नीसँग टिकाटालो ! सुन्दा पनि अचम्म लाग्छ। पुतलीबजार नगरपालिका १ घुम्तीकी २१ वर्षीया कल्पना कँवर गुरुङले मरेको ९ दिनपछि आज जिउँदा पति २४ बर्षिया अमित गुरुङसँगको हातबाट टिका लगाएकी छिन् ।
पुतलीबजार नगरपालिका २ देवीस्थान बस्ने मृतककी आमा गंगीकुमारी कुँवर र बुबा भेषबहादुर कुँवरले मृतक छोरी र जिउँदा ज्वाईलाई आइतबार टिकाटालो गरेका हुन्।
आमाबुबा दुबैजना बैदेशिक रोजगारमा गएका बेला गत पुसमा कुँवर र गुरुङले प्रेम विवाह गरेका थिए। प्रेम विवाहपछि अमित पनि रोजगारका लागि कतार पुगेका थिए। कल्पना भने सासु, ससुरा, नन्द र ज्वाईसंगै पुतलीबजारमै बस्दै आएकी थिइन्।
विवाहपछि अमितको घरमै बस्दै आएकी कल्पना गत शनिबार छिमेकीको घरको छिडींमा झुण्डिएको अवस्थामा फेला परेकी हुन्। उनको मृत्युलाई माइती पक्षले हत्या भनेको छ भने घर पक्षले आत्महत्या भएको दाबी गरेको छ।
विवाहित छोरीलाई टिका पनि नदिई मरेमा उसको आत्माले शान्ति नपाउने भन्दै माइती पक्षले आफ्नी एक मात्र छोरी कल्पना र ज्वाईलाई टिकाटालो गरेर गुरुङ धर्म र सस्कृति अनुसार अन्तेष्टि गरिनुपर्ने माग गरेपछि कतारमा रहेका ज्वाईलाई बोलाई टिकाटालो गरिएको प्रहरी निरीक्षक सन्तोष तामाङ्ले जानकारी दिए।
त्यसो त, माइती पक्षले भने कर्तव्य ज्यान मुद्दामा मृतकका सासु बालकुमारी गुरुङ, ससुरा गणेशबहादुर गुरुङ, छिमेकी सुकमाया गुरुङ र ज्वाई प्रदीप गुरुङलाई किटानी जाहेरी दर्ता गरेको छ। मृतकको पोष्टमार्टम र भिसेरा जाँचकालागि काठमाडौं पठाइएको र प्रहरी अनुसन्धान सुरू भइसकेको प्रहरी निरीक्षक हरिबहादुर बरुवालले बताए। उनले भने, ' सत्यतथ्य चाडै बाहिर आउने छ।' यसैबीच, शनिवार मृत फेला परेकी कल्पना कुवर गुरुङको मरेको ९ दिनपछि टिकाटालो गरेर गुरुङ संस्कृति अनुसार आधीखोला किनारमा आइतवार अन्त्येष्टी गरिएको छ।
मृत्युपछि टिकाटालो
news and entertainment
