योगेश भट्टराई । फाईल तस्विर : ईकान्तिपुर
काठमाडौ, जेष्ठ ११ - एमाले युवा नेता योगेश भट्टराईले नेता केपी शर्मा ओलीले पार्टीलाई सिन्डीकेट प्रणालीमा लैजान खोजेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
बरिष्ठ नेता माधवकुमार नेपाल समूहको पूर्वाञ्चलस्तरीय भेलालाई आइतबार राजधानीमा सम्बोधन गर्दै उनले वर्षौ वर्षसम्म नेतृत्वको बाँडफाँड गर्ने ओली समूहको रणनीतिको विरोध गरे । ‘कमरेड केपी ओलीपछि वामदेव, ईश्वर पोखरेल र विद्या भण्डारी अध्यक्ष हुने,’ उनले भने, ‘हामीचाँही के एमालेको गोठालोमात्रै हो ?’
करिव आधा घण्टा बरिष्ठ नेता नेपाललाई किन अध्यक्ष बनाउने भन्ने विषयमा मन्तव्य राखेका भट्टराईले शीर्ष नेतालाई गालीगलौज गर्ने र अपमानित गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए । ‘साथीहरु शत्रुलाई पनि भन्न नमिल्ने शब्द प्रयोग नगर्नुस्,’ उनले ओली समूहका नेतालाई भने, ‘महाधिवेशनसम्म अलग अलग कार्यक्रम होला, तर असार २५ गतेदेखि हामी फेरि एउटै एमाले भएर हिँड्नुपर्छ ।’
भट्टराईले महाधिवेशनमा आफ्नो पक्षमा पार्न ओली समूहका मन्त्रीहरुले कार्यकर्तालाई दबाबमा पार्न थालेको आरोप लगाए । ‘साथीहरु सिंहदरवारमा गएर मन्त्रीज्यू मेरो सरुवा गर्नुथियो भन्नुहुन्छ, मन्त्रीज्यूले के केपी ओलीलाई भोट दिने हो भनेर खुलमखुला भन्नुहुन्छ,’ उनको भनाइ थियो, ‘यहाँ जनमतलाई कब्जा गर्न खोजिँदैछ ।’
भट्टराईले नेपाल नेतृत्वको संस्थापन समूहका ‘क्लिन’ नेताहरुमात्रै रहेको पनि भन्न छुटाएनन् । ‘हाम्रो टिममा कोही पनि लोकमान पक्षका मान्छे छैनन्, भ्रष्ट न्यायाधीशलाई सर्वोच्चमा लैजाने निर्णयको विपक्षमा छैनन्,’ उनले कटाक्ष गरे ।
एकपटकका लागिमात्रै अध्यक्ष हुन्छुः नेपाल
कार्यक्रममा अध्यक्ष दौडमा रहेका नेता नेपालले युवा नेताहरुको आग्रहमा आफू एकपटकका लागिमात्रै अध्यक्ष हुने बताए । ‘एमालेमा एक से एक युवा नेताहरु हुनुहुन्छ । मैले भनेको छु लिनुस् पार्टीको जिम्मा,’ उनले भने, ‘आवश्यकता छ भने एकपटकका लागिमात्रै, त्योभन्दा बढि बस्दिन ।’
नेपालले आफ्नो टिममा सबै फ्रेस रहेको उल्लेख गरे । ‘नयाँ पुस्ताले जिम्मा लिनुस्, कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउनुस्,’ उनले भने, ‘पुरानाको खुट्टी देखिसकियो ।’
एमाले संसदीय दल लथालिंग भोः राई
खोटाङका एमाले सभासद् पीके राईले अस्वस्थ्य हुनु कसैको कमजोरी नभए पनि पार्टीको स्प्रिटलाई असहयोगसिद्ध हुने बताए । ‘हामीले भोट दिएर केपी ओलीलाई संसदीय दलको नेता बनाएकै हौँ,’ उनले भने, ‘आज संसदीयको के हविगत छ ? बैठक बस्न सकेको छैन । सचेतक दिन सकिएको छैन ।’
‘केपीपछि वामदेव, ईश्वर, विद्या अध्यक्ष हुने, हामीचाँही गोठालो हो ?
news and entertainment
