महिलाले गरे लमजुङ बन्द..
लमजुङ, जेठ १६ – लमजुङका महिलाले शुक्रबार लमजुङ बन्दको आह्वान गरेका छन् । मृत अवस्थामा भेटिएकी किशोरीलाई हत्या गरेको आरोप लगाउँदै घटनाका दोषीमाथि कारबाहीको माग गर्दै महिलाहरुले लमजुङ बन्दको घोषणा गरेका हुन् ।
मध्यमर्स्याङ्दी जलविद्युतको जलाशयमा बुधबार मृत अवस्थामा फेला परेकी लमजुङको बाहुनडाँडा गाविस वडा नम्बर ८ लामपाटा घर भएकी आइतमाया तामाङको हत्या भएको दावी गर्दै उनीहरुले दोषीलाई कारबाही गर्ने लिखित प्रतिवद्धता माग गरेका छन् ।
लमजुङ बन्दका कारण बजारका पसलहरु खुलेका छैनन् भने लामो तथा छोटो दुरीका यातायातका साधनसमेत चलेका छैनन् । बन्दका कारण शैक्षिक संस्थाहरुसमेत बन्द छन् । दोषीलाई पक्राउ गरिसकेको अवस्थामा कारबाहीको प्रक्रिया र महिला हिंसा बन्द गर्नुपर्नेसमेत महिलाको माग छ । दोषीलाई कारबाही गर्नुपर्ने र महिला हिंसा बन्द गर्नुपर्ने मागसहित पीडित पक्ष र लमजुङका महिलाहरु ५ दिनदेखि आन्दोलन गरिरहेका छन् ।
दोषीलाई कारबाही लागि प्रहरी प्रशासनसँग लिखित प्रतिबद्धताको माग गर्दै आफन्तले मृतकको शव बुझ्न अस्वीकार गरेका छन् । लमजुङ जिल्ला सामुदायिक अस्पतालमा बुधवार साँझ ल्याइएको शवको बिहीबार पोष्टमार्टम गरिएको छ ।
पोष्टमार्टमको प्रारम्भिक रिपोर्टमा किशोरीमाथि बलात्कार हुन सक्ने देखिएको छ । किशोरीको यौनांगबाट रगत बगेको, टाउकोको माथिल्लो भाग र कानको पछाडिपट्टीसमेत चोट देखिएको प्रारम्भिक पोष्टमार्टमको रिपोर्टमा उल्लेख छ ।
पोष्टमार्टमको अन्तिम प्रतिवेदनका लागि सवै तथ्यलाई काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न भएको अभियोगमा बाहुनडाँडा गाउँ विकास समिति वडा नम्बर ६, ठूलीबेसीका जीतबहादुर अधिकारी र उनका हजुरआमा पदमकुमारी महतलाई नियन्त्रणमा लिएको छ ।
प्रहरी नायब उपरीक्षक अच्युतप्रसाद पुडासैनीले दोषीलाई कारबाही गर्न कुनै कसुर बाँकी नराख्ने भन्दै कानुनी प्रक्रिया अगाडि बढाएको बताउनुभयो । आइतकुमारीको हत्या बाहुनडाडा ६ ठूलीबेसीका जितबहादुर अधिकारीले गरेको दाबीसहित आमा सेतीमायाले किटानी जाहेरी दिनुभएको थियो ।
सदरमुकाम बेसीशहरको शान्ति टोलमा डेरामा बसेर जनविकास उच्च माविमा कक्षा ११ मा पढ्दै गरेकी १९ वर्षीया आईतमाया तामाङ डेराबाटै जेठ ७ गतेदेखि हराएकी थिइन् । प्रहरीका अनुसार तामाङको कोठामा उनका भित्री बस्त्र र तन्ना रगताम्य भेटिएका थिए ।
आश गुरुङ/उज्यालो । भिडियो हेर्न तल क्लिक गर्नुहोस्
