रमेश खरेलले भने -एआईजी बन्न पैसाको ब्रिफकेस बोकेर मन्त्रीको घरमा जान्छन डीआईजी
११ जेठ, काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) रमेश खरेलले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवामा गम्भीर आर्थिक चलखेल भइरहेको खुलासा गरेका छन् ।
शनिबार महेन्द्र पुलिस क्लबमा हेम-सरिता पाठक एकेडेमीले आयोजना गरेको भ्रष्टाचारविरुद्धको अभिव्यक्ति अभियानमा बोल्दै एसएसपी खरेलले आफूभन्दा माथिका अधिकृतहरुमाथि बढुवा हुनुका लागि बि्रफकेस बुझाएको भन्दै गम्भीर यथार्थ खोलेका हुन् ।
सोही सम्मान कार्यक्रममा सहभागी एआईजीका प्रतिस्पर्धी रहेका डीआईजी विज्ञानराज शर्माकै अगाडि खरेलले एआईजी बढुवा हुन मन्त्री र नेताको घरघरमा बि्रफकेस बुझाउने काम भएको आक्षेप लगाएका थिए ।
खरेलको अभिव्यक्ति सुनेर शर्मा भने अनुहार कालो पार्दै बसेका थिए । ‘छिट्टै एआईजी बढुवा हुँदैछ, डीआईजीहरु पैसावाल छन्, बढुवाका लागि उनीहरु मन्त्री र नेताहरुको घरघरमा बि्रफकेस बोकेर धाउन थालेका छन्,’ ठोकुवा गर्दै एसएसपी खरेलले भने । तर, मञ्चमा सँगै रहेका डीआईजी शर्मा भने केही बोलेनन् ।
परराष्ट्रमन्त्री महेन्द्र पाण्डे प्रमुख अतिथि रहेको सो कार्यक्रममा खरेलले मन्त्रीलाई सुरक्षा निकायले गर्ने सामान्य शिष्टाचारसमेत देखाएनन् । उनले मन्त्री पाण्डेको राजनीतिक प्रतिस्पर्धीजस्तै देखिने गरी औंला तेस्र्याएरै भ्रष्ट डीआईजीहरुलाई बढुवा नगर्नका लागि मन्त्रिपरिषदमा भूमिका खेल्नोस् भन्दै निर्देशात्मक अभिव्यक्ति दिएका थिए

