health
आलिमको अनुहार सल्याक्रिया अघि र पछिको अबस्था ।
काठमाडौं, जेष्ठ १५ - अनुहारको विकृत गाँठो (ट्युमर) देखाउँदै उपचारका लागि याचना गर्ने आलिम कवाडी अब सडकमा देखिने छैनन् । जनकपुरका ३२ वर्षीय कवाडीको मंगलबार वीर अस्पतालमा सफल शल्यक्रिया भएको छ । ८ घन्टा लगाएर गरिएको शल्यक्रियाले उनको अनुहार बदलिएको छ । उनी होसमा छन् र बोलचाल गर्न सक्छन् । अस्पतालका अनुसार हालसम्म मुलुकमा यस प्रकारको शल्यक्रिया भएको थिएन ।
पाँच वर्षदेखि अनुहारको गाँठो बढ्दै गएर उनको एउटा आँखासमेत काम नलाग्ने भएको थियो भने नाकको प्वाल बन्द थियो । उनी मुखले मात्र सास फेर्थे । नाक बन्द भएकाले आवाजसमेत प्रस्ट थिएन । विज्ञहरूका अनुसार कवाडीको अनुहारमा देखिने गाँठो म्याजुलाबाट आएको बोन ट्युमर हो ।
'हालसम्म यस्तो शल्यक्रिया मुलुकमा भएको छैन, यो एक्लै एउटै टिमले गर्ने शल्यक्रिया होइन,' समस्या जटिल रहेको जनाउँदै न्युरो शल्यक्रिया विभागका प्रमुख डा.प्रकाश विष्टले भने, 'यो शल्यक्रियामा स्नायु शल्यचिकित्सकले समन्वय गरेका हुन्, प्लास्टिक शल्यचिकित्सक र फेसियोम्याक्जुलरी शल्यचिकित्सक सबैको सहयोगले सम्भव भएको हो ।' शल्यक्रियामा वीरका स्नायु शल्यचिकित्सक डा.राजीव झाले समन्वयकर्ताको भूमिका खेलेका थिए । डा.विष्ट, डा.झा, दन्त विशेषज्ञ डा.सुरज श्रेष्ठ, डा. शक्ति शाक्य, डा. प्रमिला वज्राचार्य, काठमाडौं मोडेल अस्पतालका प्लास्टिक शल्यचिकित्सक डा.शंकरमान राई, एनेस्थेटिस्ट डा.मानबहादुर चन्द, डा. प्रकाशबहादुर थापालगायत शल्यक्रियामा सहभागी थिए ।
पहिले खेतीमा ज्यालादारी काम गर्दै आएका कवाडी अविवाहित छन् । 'डाक्टर झाले सित्तैमा उपचार गराउन भनेपछि उपचारमा ल्यायौँ,' कवाडीका कुरुवा भाइ नसिव राइनले भने ।
कवाडीलाई डा. झाले एक महिनाअघि अस्पताल भर्ना गरेका थिए । उपचारका लागि वीर अस्पताल अगाडि सबैसँग सहयोग माग्दै गरेको स्थितिमा डा.झाले कवाडीलाई भेटेपछि उनलाई सितैमा उपचार गराउन आग्रह गरेका थिए । 'बिदाको दिन थियो, म साँझ अस्पताल आउँदै थिएँ अनि कवाडीलाई माग्दै गरेको देखेँ,' झाले भने, 'मेरो ज्ञानअनुसार यो अनुहारमा भएको गाँठोको दुर्लभ स्थिति थियो, मैले शल्यक्रिया नगरे अन्ततः मृत्युबाहेक विकल्प नरहेको सम्झाएपछि उनी माने ।'
भविष्यमा बिस्तारै पुनः निर्माणसम्बन्धी अन्य शल्यक्रियासमेत गरिने जनाउँदै डा.झाले भने, 'अचानक हेर्दा डरलाग्दो देखिने अनुहार शल्यक्रियापछि अब मान्छे जस्तो देखिन्छ ।' कवाडीको अनुहारको गाँठोको विशेष परीक्षण हुँदै छ ।
आठ घण्टाको शल्यक्रियाले फेरियो अनुहार
news and entertainment
