गगन थापाले यसरी गरे सरकारलाई ब्यंग्य
२०७१ जेठ १७ गते
काठमाडौं। नेपाली काँग्रेसका युवा नेता एवं केन्द्रीय सदस्य गगन थापाले आफ्नै पार्टीको नेतृत्वमा रहेको सरकारलाई ब्यंग्य गरेका छन् ।
शुक्रबारको संसद बैठकमा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको आलोचना गर्दा सरकारमै रहेका काँग्रेस र एमालेका सभासदले ताली बजाएको भन्दै थापाले ट्वीटरमार्फत ब्ब्यङ्ग्य गरेका हुन् । विशेष समय लिएर बोल्दै प्रचण्डले सरकारले चार बुँदे सहमति पालना नगरेकाले शुक्रबारबाट सुरु भएको बजेट अधिवेशन चल्न नदिने बताएका थिए । अर्थमन्त्री रामशरण महतले चार अर्ब रकम विषयान्तर गरेर जथाभावी बाँडेको र प्रहरीको एआईजी बढुवामा चर्को आर्थिक लेनदेन भएको भन्दै आपत्ति जनाएका थिए ।
‘सदनमा बढो रमाइलो दृश्य देखियो । प्रचण्डले सरकारका केही मन्त्रीले जथाभावी पैसा बाँड्यो भन्दा सबैभन्दा जोडले ताली बजाउने एमालेका सांसद्, अनि प्रहरीको बढुवामा पैसाको लेनदेन भएको छ भन्दा सबैभन्दा जोडले ताली बजाउने काँग्रेसका सांसद वाह हाम्रो सरकार !’ थापाले ट्वीटमा भनेका छन् ।
संसदको शुक्रबारको बैठकमा संयुक्त सरकारको भावनाविपरीत संसदमा प्रतिपक्षी दलका नेताले बोल्दा ताली बजाएको विषयलाई संकेत गरेका हुन् ।