प्रचण्डलाई गोली हानी मार्ने धम्की
एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोली हान्ने धम्की आएको छ । यो धम्की कुनै अज्ञात समूह वा अरु पार्टीका विरोधीहरुबाट आएको होइन । एमाओवादीको युवा संगठन वाइसिएलका एक सदस्यले नै प्रचण्डलाई गोली हान्ने धम्की दिएका हुन् ।
यसरी पार्टीका दुई नेतालाई धम्की दिने गोरखा वारपाकका वाइसिएल कार्यकर्ता धनबहादुर घले हुन् । उनले मोवाइलबाट एसएमएस पठाएर उक्त धम्की दिएका हुन् ।
उनले एसएमएसमा प्रचण्ड र बाबुरामले धोका दिएको बताएका छन । प्रचण्ड बाबुराम देशद्रोही बनेको दाबी गर्दै उनीहरुले सहिदको सपना र जनताको भावनामाथि खेलबाड गरेको आरोप लगाएका छन । घलेले भनेका छन प्रचण्ड बाबुरामलाई देशले कहिल्यै माफ गर्ने छैन । साथै उनले भनेका छन एक दिन अवश्य गोली खायरमर्नु पर्ने छ ।
एकाएक मोवाइलमा ज्यान मार्ने धम्कीसहितको एसएमएस आएपछि प्रचण्ड र बाबुरामले प्रहरीलाई खबर गरेका थिए । स्रोतका अनुसार दुबै नेताले प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्याललाई जानकारी गराएक थिए ।
प्रचण्ड र बाबुरामले दिएको जानकारी अनुसार महानिरिक्षक अर्यालले तत्काल गोरखा प्रहरीलाई निर्देशन दिएका थिए । त्यसलगत्तै एसएमएसबाट धम्की दिने धनबहादुर घलेलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो । प्रहरीसँगको बयानमा घलेले आफूले नै एसएमएस पठाएको स्वीकार गरेका छन् । साथै उनले प्रचण्ड बाबुरामले वाचा गरेअनुसार काम नगरेको, जनतालाई धोका दिएको र सहिदको रगतमा खेलवाड गरेकोले यस प्रकारको एसएमएस दिएर धम्क्याएको बताएका छन् ।
प्रहरीले उनको बारेमा अझै अनुसन्धान गरिरहेको जनाएको छ । उनले भनेजस्तै आवेगको प्रतिक्रिया हो वा उनले साँच्चिकै त्यस्तो योजना बनाएका हुन भन्नेबारे अनुसन्धानपछि मात्र भन्न सकिने प्रहरीको भनाई छ । पछिल्लो समय एमाओवादीभित्र विवाद झन्झन् चुलिदै गएपछि नेताहरुप्रतिको आक्रोश कार्यकर्तामा बढ्दो छ । साथै गुट गुटबीच मनमुटाव हुने र विभिन्न तरिकाले आक्रोश व्यक्त गर्ने क्रम पनि बढेको छ ।

