अमेरिकी पौडीबाज माइकल फेलप्स ६ महिनाका लागि निलम्बित

१८ ओटा ओलम्पिक स्वर्ण पदक विजेता अमेरिकी पौडी खेलाडी माइकल फेलप्सविरुद्ध अमेरिकाको पौडी संघले ६ महिनाका लागि कुनै पनि प्रतियोगितामा भाग लिन प्रतिबन्ध लगाएको छ । मादक पदार्थ सेवन गरी सवारी चलाएको आरोपमा पक्राउ परेपछि फेलप्सविरुद्ध खेल प्रतिबन्धकोे कारबाही गरिएको हो ।


अमेरिकी पौडी संघले फेलप्सले संस्थाको आचारसंहिता उल्लंघन गरेको बताएको छ । गत सेप्टेम्बर ३० मा फेलप्सलाई मेरिल्यान्डमा एक सय ३५ किलोमिटर प्रतिघन्टाको गतिमा सवारी साधन चलाउँदै गर्दा प्रहरीले गिरफ्तार गरेको थियो ।

पौडी संघको कारबाहीका कारण फेलप्सले सन् २०१५ मा रुसमा हुने विश्व च्याम्पियन प्रतियोगितामा समेत सहभागिता जनाउन नपाउने भएका छन् । फेलप्समाथिको प्रतिबन्ध सन् २०१५ को अप्रिल ६ मा सकिने जनाइएको छ ।

सन् २००४ मा पनि मादक पदार्थ सेवन गरी सवारी चलाएको आरोपमा उनीविरुद्ध १८ महिनाका लागि गाडी चलाउन प्रतिबन्ध लगाइएको थियो । २९ वर्षीय पौडी खेलाडी फेलप्सले सन् २००४ देखि २०१२ सम्ममा २२ ओटा ओलम्पिक पदक जितेका थिए । जसमा १८ ओटा स्वर्ण पदक जित्दै उनले इतिहास रचेका थिए ।

यसैबीच, फेलप्सले अमेरिकी पौडी संघले आफूविरुद्ध कारबाही गरेकोमा खेद प्रकट गर्दै आफूले केहि समयका लागि खेलबाट सन्यास लिएको बताएका छन् । (एजेन्सी)
imagekhabar.com

,

news and entertainment