नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले नेपालको आन्तरिक मामिलामा भारतले हस्तक्षेप गरेर उत्ताउलोपना देखाएको बताएका छन्।
असन्तुष्ट मधेसी, थारुलगायत समुदायलाई संविधान संशोधन गरेर हक, अधिकार दिइने भन्दै थापाले छिमेकीको उत्ताउलोपना आवश्यक नभएको टिप्पणी गरेका हुन्।
नेपाल स्वास्थ्यकर्मी सङ्घ गोरखाले छेवेटारमा शनिवार आयोजना गरेको शुभकामना आदानप्रदान तथा वनभोज कार्यक्रमलाई सम्बोधन गर्दै थापाले भने,'हामी हाम्रो घर मिलाउन सक्षम छौं। छिमेकीले उत्ताउलोपना देखाउनुपर्दैन।'
जारी भएको संविधान कार्यान्वयन काँग्रेसको प्रमुख प्राथमिकता रहेको उनले बताए। 'संविधानप्रति असन्तुष्टि र आक्रोश देखिएको छ। मधेसी, थारुलगायत समुदायलाई चित्त बुझाएर मात्रै हामी अघि बढ्छौँ,'थापाले भने। काँग्रेस सरकारमा जान हतार नगर्ने भन्दै उनले संविधानको कार्यान्वयन गर्दै आउँदो २०७४ माघ ७ भित्र स्थानीय, प्रान्त र केन्द्रको निर्वाचन गर्ने गरी अघि बढ्नुपर्नेमा जोड दिए।
विप्रेषणले मुलुक धानिएको भन्दै उनले जनताको आर्थिक स्तर परिवर्तन हुने गरी देशलाई समृद्ध बनाउनुपर्नेमा जोड दिए। 'भूकम्प, मधेस आन्दोलन र नाकाबन्दीले देशको अर्थतन्त्र डामाडोल भयो', उनले भने,'जनताको जिन्दगी परिवर्तन गर्नुपर्छ।' रासस
गगन थापा भन्छन्,'भारत उत्ताउलो भयो'
news and entertainment
