आयरल्याण्डलाई नेपाल भ्रमण प्रतिवन्ध खुकुलो पारिदिन आग्रह
वैशाख १९, २०७३- नेपालले आयरल्याण्डलाई नेपाल भ्रमण प्रतिवन्ध खुकुलो पारिदिन आग्रह गरेको छ । आयरल्याण्डका लागि समेत कार्यवहाक राजदूत रहेका तेजबहादुर क्षेत्रीले भूकम्पको वर्ष दिनपछि उक्त आग्रह गरेका हुन् ।
आयल्याण्डले भूकम्प लगत्तै आफ्ना नागरिकलाई नेपाल भ्रमणमा प्रतिवन्ध लगाएको थियो । पछि आंशिक प्रतिवन्ध हटेपनि बेलायत जस्तो आयरल्याण्डले पूर्ण प्रतिवन्ध हटाइसकेको छैन् । बेलायतले राजकुमार ह्यारीको नेपाल भ्रमणको पूर्व सन्ध्यामा प्रतिवन्ध पूर्ण रुपमा हटाएको हो ।
विनाशकारी भूकम्पको वर्ष दिनको सम्झनामा आयरल्याण्डमा नेपाल सम्मेलन हुनु अघि यहांको विदेश मन्त्रालयका एसिया प्यासिफिक उप निर्देशक ब्रायन ओ ब्राइन र डेस्क अफिसर मारिया सिहीसंगको भेटमा भ्रमण प्रतिवन्ध खुकुलो पार्न, आयरल्याण्डको ओभरसिज डेभलपमेन्ट असिस्टेन्स (ओडिपी) को प्राथमिकता मुलुकमा राख्न, सर्वदलीय संसदीय समिति र परामर्श संयन्त्र गठन गर्न आग्रह गरिएको क्षेत्रीले जानकारी दिए । अहिले एसियाका भियतनाम, लाओस र क्याम्बोडिया अनि बांकी अफ्रिकी गरि कुल ११ मुलुकले ओडिपी पाइरहेका छन् ।
भेटमा कार्यवहाक राजदूत क्षेत्रीसहित नेपाल पर्यटन बोर्डका यूके प्रतिनिधि पशुपति भण्डारी, नेपाल पर्यटन बोर्डका आयरल्याण्ड प्रतिनिधि दिपेशमान शाक्य र समाजसेवी डा. कपिल रिजाल सहभागी थिए । भेटमा आइरिस सरकारबाट उच्चस्तरीय नेपाल भ्रमण गर्न र शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगानीका लागि आग्रह गरिएको थियो । कार्यवहाक राजदूत क्षेत्रीले नयाँ संविधान र पुनर्निर्माण कार्यको प्रगति समेत पेश गरेका थिए ।
यसैबीच, लन्डनस्थित नेपाली दूतावास, नेपाल आयरल्याण्ड सोसाइटी, एक्सन एड र इन्जिनियर्स वीदाउट बोर्डर्स आयरल्याण्डको संयुक्त आयोजनामा ३० अप्रिल शनिबार डब्लिनमा नेपाल सम्मेलन भएको छ । उक्त सम्मेलन भूकम्पपछि पुनर्निर्माण, संयुक्त योजना सञ्चालन र सञ्जाल विस्तारमा केन्द्रित गरिएको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ ।
ekantipur
